तुवालोले वारिबाट पारि देख्न सकिन्न, अत्यासलाग्दो अवस्थामा फेवाताल

Share to:

मिनबहादुर कुँवर/कास्की, बैशाख २३,

मुलुकमा शनिबार पोखराको मौसम यतिसम्म प्रदूषित थियो की फेवातालको वारि किनारबाट पारिपट्टिको गाउँ देखिएको थिएन। फेवाको किनारबाट हेर्दा तालको बीचभागका सयर गरिरहेका डुंगा पनि प्रदूषित तुवाँलोमा लुकिरहेका थिए। पर्यटन व्यवसायी हवाई उडान नहुँदा पर्यटन क्षेत्र प्रभावित बनेको गुनासो गरिरहेका छन्। सुख्खा बढ्दा स्थानीयवासी धारामा पानी आउन छाडेको गुनासो गर्न थालेका छन्। लगाएको खेतीबाली पनि सुक्न थालिसकेको उनीहरुको भनाई छ। शनिबारको जस्तो मौसम पोखराले झन्डै सातादेखि खेपिरहेको छ। दुई सातादेखि बिग्रन थालेको पोखराको मौसम पछिल्लो साता अझै बढी प्रदूषित बनेको छ। त्यसको प्रभाव सर्वत्र परिरहेको छ। सर्वसाधारणले स्वास्थ्यमा समस्या खेप्न थालिसकेको चिकित्सकले बताएका छन्। ‘पोखराको प्रदूषणबारे बोल्ने निकाय कोही छैन । यसलाई कसरी कम गर्न सकिन्छ भनेर चिन्तन गर्ने पनि कोही देखिएन,’ दोर्जेज रिर्साेट एण्ड स्पाका संचालक दोर्जे लामाले भने, ‘पर्यटन क्षेत्रलाई पर्यटनकै चिन्ता छ। पर्यटक आउन नपाएको चिन्ता पर्यटन क्षेत्रलाई छ। आ आफ्नो चिन्ता सबैलाई परिरहेको छ। तर, सरकारी निकायलाई यसबारे चिन्ता छाएन।’प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी डढेलो नवलपुरमा लागेको छ। नवलपुरमा मात्र २५ सय ५३ हेक्टर वन क्षेत्र खरानी बनेको छ। त्यस्तै म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका जिल्लामा पनि ठुलाे क्षेत्रफल वन डढेको छ। गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार शनिबारसम्म प्रदेशका मुस्ताङ बाहेक १० जिल्लामा डढेलो लाग्दा ८ हजार ६ सय ६३ हेक्टर क्षेत्रफल वन खरानी बनिसकेको छ। यो सिजनमा मात्र ४ सय ८३ स्थानमा डढेलो लागिसकेको छ। ‘पानी त हामीले पार्न सकेनौ, कम्तीमा डढेलो लाग्न नदिन त सचेत बनाउन सकिन्थ्यो। जथाभाबी डढेलो लगाउनेलाई पहिचान गर्ने र कारबाही गर्ने हो भने यो प्रदूषण कम हुन्थ्यो,’ लामाले भने, ‘यसबारेमा कुनैपनि सरकारी निकायलाई टाउको दुखेन। टाउको कि त पोखरेली सर्वसाधारण की पर्यटन व्यवसायीको मात्र दुखेको छ।’ यसले गर्दा दिनमा कम्तीमा २ हजार हवाई यात्रुको पोखरा यात्रा सकसपूर्ण र अन्योलमय बनेको उनले बताए। ‘सरकारी निकायले पूर्णरुपमा बेवास्ता गर्दाको परिणाम अरुले खेप्नुपरेको हो। कम्तीमा भीरपखेरामा कसले डढेलो लगाएको हो भन्नेबारे कर्डाइका साथ सोधखोज गर्ने हो भने यो अवस्था त आउने थिएन,’ उनले भने। उनका अनुसार अहिलेको प्रदूषणले अत्तालिएर पर्यटकले बसाई अवधि छोट्याएका छन्। हवाई उडान अवरुद्ध हुँदा पाहुना पोखरा आउन सकेका छैनन्। अघिल्लो शुक्रबारदेखि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीचमा गत बिहीबार पूर्णरुपमा संचालन हुने बाहेक अरुदिन पूर्ण रुपमा बन्द भएको छ। वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदीका अनुसार हावाको चक्र पोखरा उपत्यकाबाट उचाइतिर र उचाँईबाट पोखरा उपत्यकातिर आउने प्रक्रिया हुन्छ। तर, हावा वहने त्यो चक्र नै रोकिएको उनले बताए। ‘पोखरामा पानी पर्ने र हावा चल्ने स्थानीय प्रक्रिया नै सक्रिय हुन नसक्दा यस्तो अवस्था आएको हो,’ उनले भने। उनका अनुसार त्यसो हुनुमा जंगलमा आगलागी हुनु मुख्य कारण हो। ‘चिसो हावा दिने ठाउँ नै आगलागीले तातोको छ। त्यसबाहेक ग्लोबल क्लाइमेटको कारण पनि पानी परेको छैन । नेपाल भरि पानी नै परेको छैन। पोखराको स्थानीय वायुको प्रणालीका कारण पनि पानी पर्ने गर्दथ्यो। तर, स्थानीय प्रणाली नै सक्रिय हुन सकेन,’ उनले भने, ‘हावा चल्ने र पानी नपरेसम्म यो समस्या हल हुँदैन।’ उनका अनुसार अहिलेको समस्या प्राकृतिक रूपमै समाधान हुनुपर्छ। मानवीय रुपमा हुन सक्दैन। ‘सतहमै प्रदूषण छ। यसले स्वास्थ्यमा हानी पार्छ,’ उनले भने। उनका अनुसार डढेलो लगाउन रोक्ने र विकास निर्माणको कामलाई पनि संवेदनशीलताको आधारमा प्राथमिकतामा राख्ने हो भने अहिलेको प्रदूषण कम हुन्छ। ‘मानव स्वास्थ्यमा समस्या बढिसकेको छ। यो समस्या अझै जटिल बन्दै जाने छ,’ उनले भने, ‘त्यसैले विकास निर्माणमा पनि संवेदनशीलता हेर्नुपर्छ।’ ‘हामीले रोक्ने भनेको डढेलो लाग्न नदिने हो। त्यसबाहेक पानी पार्न सक्दैनौ,’ उनले भने, ‘पोखरा अत्यासलाग्दो देखिएको छ।’ उनका अनुसार जमिन नजिकको प्रदूषित वायुमण्डल झन् बढी हानिकारक हुन्छ। त्यसैले मान्छेमा स्वास्थ्य समस्या देखिन थालेको छ। यो समस्या आगामी दिनमा अझै बढ्न सक्ने उनले बताए। गण्डकी प्रदेशको वन निर्देशनालयका निर्देशक रामकाजी श्रेष्ठ जथाभाबी वनमा आगो लगाएर बदमासी भइरहेको बताउँछन्। ‘अहिले प्राकृतिक कारणले वनमा आगो लागेको होइन, मान्छेले जानाजान लगाएको हो। तर, त्यसको असर कम गर्न र आगलागी हुन नदिन सरकारी निकाय नै जति चनाखो हुनुपर्ने हो, त्यो हुन सकेन,’ उनले भने। मान्छेले नै जानाजान वनजंगलमा आगो लगाएकोले यस्तो भयाभव अवस्था आएको उनले बताए। अहिलेको वायु प्रदूषणबारे संघीयदेखि स्थानीय सरकार पनि संवेदनशील हुन नसकेको उनले बताए। ‘कसैले पनि यो प्रदूषणबारे चाँसो लिएका छैनन्। केन्द्रदेखि गाउँसम्म समस्या छ। स्थानीय तह पनि सक्रिय हुन सकेको छैन। जिम्मेवार त कोही देखिएनन्,’ उनले भने। ‘पोखरामा यस्तो अवस्था आएको छ की प्रदूषणले मानव स्वास्थ्यमा असर पारिसक्यो, तर, यो विषयमा चिन्तित हुन नसकेको हो,’ श्रेष्ठले भने, ‘भयाभव अवस्था हुँदा पनि सबैतिरका निकाय चुपचाप छन्। तत्कालका लागि केही गर्न नसकेपनि आगामी दिनका लागि त यस्ता घटना हुन नदिन अहिलेको तयारीले सघाउँथ्यो, तर, त्यो विषयमा पनि कसैलाई चासो भएन।’ अहिलेको वायु प्रदूषणबारे संघीयदेखि स्थानीय सरकार पनि संवेदनशील हुन नसकेको उनले बताए। ‘कसैले पनि यो प्रदूषणबारे चाँसो लिएका छैनन्। केन्द्रदेखि गाउँसम्म समस्या छ। स्थानीय तह पनि सक्रिय हुन सकेको छैन। जिम्मेवार त कोही देखिएनन्,’ उनले भने। वायु प्रदूषणको सबैभन्दा बढी मार पर्यटन क्षेत्रले खेपेको गुनासो व्यवसायीको छ। गत वायु प्रदूषणका कारण गत शुक्रबारदेखि पोखराको हवाई उडानमा अवरोध आउन थालेको थियो। तीन वटा हवाई कम्पनी बुद्ध, यती र श्री एयरलाइन्सले पोखरामा नियमित उडान गरिरहेका थिए। बुद्धले २०, यतीले १० र श्री एयरलाइन्सको ३ गरि दिनमा ३३ वटा उडान भइरहेका थिए। पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘हवाई मार्ग प्रदूषणले रोकियो, स्थल मार्ग धुलोले सकसपूर्ण छ। यस्तो अवस्थामा पर्यटक आउने कुरै रहेन।’ उनका अनुसार यस्तो अवस्थाले पर्यटकको आउजाउमा त डिस्टर्ब हुन्छ नै यो सिजनमा नेपाल भ्रमण उपयुक्त हुँदैन भनेर गलत सन्देश प्रवाह हुने जोखिम हुन्छ। अहिले प्रदूषणले पर्यटकको आउजाउमा असर परेको उनले बताए। तर, अघिल्लो शुक्रबारदेखि हवाई उडान पूर्ण रुपमा प्रभावित छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी अपुग भएको भन्दै विमानस्थल खुल्न सकेको छैन। गत बिहीबार पूर्ण रुपमा र अघिल्लो आइतबार मध्यान्हपछि केही बेर उडान भएपनि विगत आठ दिनदेखि पोखरा हवाई सम्पर्कबाट विच्छेद छ। ‘नेपालमा केही देख्न पाइन्न। गलत समयमा घुम्न गइएछ भनेर सन्देश प्रवाह हुन सक्छ। त्यसले आगामी सिजनमा असर पार्न सक्छ,’ सापकोटाले भने, ‘यस्तो अवस्थामा हवाई सेवा नियमित गर्न सक्ने कुनै प्रविधि भए त्यसमा जोड दिन सकिन्छ।’

Like