नेपाली कांग्रेसको के. पी. शर्मा ओली र माधव कुमार नेपाललाई ‘प्रधानमन्त्री अफर’
रासंसा/काठमाण्डौ, बैशाख २३,
मुलुकमा वर्तमान सत्तारुढ गठबन्धन सरकार भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेको हो । तर प्रधानमन्त्रीको अफर दिदै हिडेको कांग्रेस भित्रै एकमत छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा समूहले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर गठबन्धन भत्काउन खोजेका छन् । अर्को तर्फ कांग्रेस नेता शेखर कोइराला समूहले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको छ । संघीय र प्रदेश सरकारबाट बाहिरिएपछि कांग्रेस सत्तामा पुग्न प्रधानमन्त्री बन्न नेताहरुलाई अफर गर्दै अहिलेको गठबन्धन भत्काउन खोजेको छ । गत २१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगको सत्तासहकार्य तोडेर एमालेसंग मिलेका थिए । त्यस यता चिढिएको कांग्रेस जसरी पनि अहिलेको गठबन्धन भत्काउँने र प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्यमा छ । पछिल्लो समय यही बिषयमा नेताहरुका बीचमा ‘कोठे’ छलफल तिब्ररुपमा भईरहेको छ । सत्तारुढ गठबन्धनभित्रको आन्तरिक समस्या एवं असन्तुष्टिकै बीचमा कांग्रेसले जसरी पनि यो गठबन्धन भत्काउन खोजेको छ । कांग्रेसले दुई बिकल्प सहित प्रचण्ड नेतृत्वको सरकारको विस्थापन गर्न खोजेको छ । दुई ‘प्लान’ सहित छलफलमा रहेको कांग्रेस दुबै मध्ये जुन प्रस्तावमा सहमती जुटे उही प्रस्तावलाई कार्यान्वयन गर्न तयार छ । एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन भत्काउने प्रत्यन भइरहेको जनाएका छन् । एमाले पश्चिम नवलपरासीको नवौ जिल्ला अधिवेशनलाई सुनवलमा उद्धघाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सूरु भइसकेको बताए । देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको बताए । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकता नै नपर्ने दाबी उनको छ । कांग्रेस नेता कोइरालाले ओलीलाई पहिलो कार्यकाल प्रधानमन्त्री बन्न र त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर ओलीले यस ’boutमा कुनै जवाफ दिएका छैनन् । कोइरालाले यस ’boutमा ओलीसंग उनकै निवास बालकोटमै घण्टौ छलफल गरेका छन् । एमाले सचिव योगेश भट्टराईले कतिपयले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने आशय ब्यक्त गरिरहेको भएपनि त्यो समय घर्किसकेको दावी गरेका छन् । गृहजिल्ला ताप्लेजुङको १२औं जिल्ला अधिवेशनमा सहभागि हुन पुगेका सचिव भट्टराईले भने, ‘२०८४ को निर्वाचनसम्म गठबन्धन कायम राखेर जाऔँ भन्ने सहमति भएको छ र एमाले त्यसैको पक्षमा छ, तर अहिलेको संसदको गणितको हिसाबले यो सरकार कहिलेसम्म जान्छ ठ्याक्कै भन्न सकिदैन् ।’ शनिबार एमाले काठमाडौं–प्यूठान सम्पर्क मञ्चको १२औँ अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताए । मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको उनले बताए । एमाले महासचिव शंकर पोखरेलले अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरूको नभएको भन्दै मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको स्पष्ट पारेका छन् । एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउदै उनले अहिले पनि एमालेको ध्यान ‘मिसन २०८४’ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए । ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ । चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने । उनले नेपालको राजनीति कांग्रेसका कारण अन्योलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको टिप्पणी गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा उनले वर्तमान सरकारको आयु चाँडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षमा पुगेपछि जसरी पनि सत्तारुढ गठबन्धन भत्काउनुपर्ने परम्परा बनेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रतिपक्षमा पुगेपछि जहिले पनि गठबन्धन भत्काउने काम प्रतिपक्षको भएको बताए । सत्तारुढ र प्रतिपक्षी दलहरुमा देखिएका अन्तरविरोध गम्भिर प्रकारका रहेको बताउँदै सोही आधारमा बिभिन्न प्रयास जारी रहेको उनले बताए । एमाले र एकीकृत समाजवादीबीच अन्तरविरोध छ भने उता प्रतिपक्षी दल कांग्रेसमै देउवा र कोइराला समूहका बीचमा खटपट रहेको बेला प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । कांग्रेसले बर्तमान गठबन्धन भत्काउने गृहकार्यमा जुटेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् । बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेसले वर्तमान गठबन्धन भत्काउने गृहकार्यमा लागेपनि सफल नहुने दावी गरेका छन् । ‘प्रतिपक्षमा पुगेपछि समीकरण भत्काउने परम्परा बन्यो । कांग्रेसले गठबन्धन भत्काउने प्रयास गरे पनि तत्काल यो समीकरण भत्काउन सक्ने अवस्था देखिदैन्’ ति नेताले भने ।