नेपाली कांग्रेसको लुम्बिनी प्रदेश: सर्वदलीय सरकार बनाउन कसरत
रासंसा/दाङ, चैत्र ८,
मुलुकमा राजनीति प्रतिस्पर्धा गर्दा मुलुक नै विभिन्न विधामा अस्तध्वस्त भएको तथ्य सत्य छ भने अझै के हुने हो यसको लेखा जोखा हुन बाँकी नै छ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सर्वदलीय सरकार निर्माणका लागि कसरत गर्ने भएको छ। हालकै नेतृत्वको सरकारमा सबै दलहरुलाई समाहित गरेर केही समय वर्तमान नेतृत्वको सरकारलाई नै काम गर्न दिने वातावरण बनाउने निर्णय कांग्रेसले गरेको छ। ‘अहिलेको नेतृत्वको सरकारमा सबै दलहरुलाई सहभागी गराएर सर्वदलीय सरकार निर्माणका लागि पहल गर्ने भन्ने निर्णय गरिएको छ,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘हामीहरु सर्वदलीय सरकार गठनको प्रयासमा लाग्ने छौँ।’ कांग्रेस नेता डा. शेखर कोइराला सहित रुपन्देहीमा बसेको कांग्रेस लुम्बिनी प्रदेशको बैठकले आफ्नै नेतृत्वमा सर्वदलीय सरकार गठन गर्ने निर्णय गरेको हो। कांग्रेसले यसलाई प्रदेशको समग्र विकास र प्रदेशको औचित्य पुस्ट्याइँका लागि गतिलो कदम भनेको छ। प्रदेश तहमाथि व्याप्त नकारात्मक धारणालाई चिर्न सरकार फेरबदल गर्न नहुनेमा दृढ नेपाली कांग्रेसले प्रदेशको समग्र विकासका लागि सरकारको स्थायित्व अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। प्रदेशमा रहेका सबै साना दलसँगै एमाले तथा माओवादीलाई सर्वदलीय सरकार निर्माणका लागि मनाउने कसरतमा कांग्रेस देखिएको छ। ‘साना दलहरु सहित एमाले र माओवादीका साथीहरुलाई पनि प्रदेशको हितका निम्ति सर्वदलीय सरकार निर्माण गरौँ भनेर हामी अनुरोध गर्छौँ,’ सभापति पुनले भने ‘सत्ता फेरबदलले प्रदेशलाई फाइदा गर्दैन भन्ने महसुस उहाँहरुलाई हुनुपर्छ र हामी गराउँछौँ।’ ‘छिनछिनमा हुने सत्ता फेरबदलले प्रदेशको समग्र विकासमा असर गर्छ, यसले प्रदेश प्रीत व्याप्त नकारात्मक धारणालाई थप विकास गर्छ,’ सभापति पुनले भने ‘फलतः सरकारलाई स्थायित्व दिएर प्रदेशको विकासमा सबै दलहरु एकमत हुनुपर्छ भन्ने कांग्रेसको भनाई हो।’ केन्द्र तहमा जस्तो खालको सत्ता समीकरण निर्माण भएपनि त्यो समीकरणको प्रभाव प्रदेश पारिन नहुनेमा कांग्रेसको जोडबल छ। प्रदेश तहको विकासका लागि सबै दलहरु बिच सहकार्यको वातावरण कायम हुनै पर्ने भन्दै सभापति पुनले भने ‘केन्द्रमा जस्तो समीकरण बनेपनि प्रदेश तहको विकासका लागि यहाँ फरक ढंगबाट दलहरु अगाडी बढ्न सक्नु पर्छ भन्ने हाम्रो जोडबल हो।’ ‘अहिले हाम्रो नेतृत्वको सरकारमा सबै दलहरु सहभागी हुने र यो सरकारलाई केही समय निरन्तरता दिएर केही समय पछि अर्को दलको नेतृत्वमा सरकार निर्माण गर्न सकिने विकल्पमा रहेर हामी दलहरूसँग छलफल गर्छौँ,’ सभापति पुनले भने ‘हाम्रो यो प्रस्तावमा सबै दलहरु सहमत हुन सके समग्र प्रदेशको हित हुने छ।’ सबै दलहरु सर्वदलीय सरकार निर्माणमा सहमत भए सत्ता नेतृत्व आलोपालो गर्न सकिने प्रस्तावलाई अघि सारेको छ। अहिले कायम कांग्रेस नेतृत्वको सरकारलाई आगामी बजेट अवधि सम्म निरन्तरता दिएर त्यसपछि सरकारको नेतृत्व अरु दललाई छोड्न सकिने विकल्प दिएर कांग्रेसले छलफलको थालनी गर्ने भएको छ। अन्यथा सत्ताको नेतृत्वका लागि हुने प्रतिस्पर्धाले राजनीतिक प्रतिस्पर्धा मौलाउने र यसले प्रदेशको हितलाई प्रभावित बनाउने कांग्रेसको ठम्याई छ। ‘सर्वदलीय सरकार बनेन भने सत्ता तानातानमा जान्छ, यसले राजनीतिक प्रतिशोधको विकास गर्छ,’ सभापति पुनले भने ‘प्रदेश तहमा राजनीतिक प्रतिशोध विकसित हुनु भनेको प्रदेशलाई प्रगतिको बाटोमा बाधा पुर्याउने नै हो।’ यसैगरी कांग्रेसले संगठन सुदृढीकरण अभियान चलाउने निर्णय पनि गरेको छ। प्रदेशका १ सय ९ पालिकामा कांग्रेस प्रदेश समितिले प्रतिनिधि खटाएर कांग्रेसको संगठनलाई थप मजबुत बनाउने अभियानको थालनी गर्ने निर्णय गरेको छ। कांग्रेस लुम्बिनी सभापति पुनका अनुसार यी प्रतिनिधिहरू पालिकामा तीन महिना सम्म रहनेछन्। बैठकमा सहभागी मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि वर्तमान सरकारले अपेक्षा अनुसारको काम गर्न विभिन्न कारणले गर्न नसकिरहेको भन्दै सरकारले लिएको लक्ष अनुसारको काम गर्ने वातावरण निर्माणका लागि सर्वदलीय सरकार निर्माणमा जोड दिएका थिए। ‘कांग्रेसको सांगठनिक अवस्था, त्यहाँको अन्य बस्तु स्थिति लगायत आम नागरिकको अपेक्षा सहितको अध्ययनका लागि यो अभियानको प्रारम्भ गर्ने निर्णय गरिएको हो,’ सभापति पुनले भने ‘तीन महिनासम्म पालिका तहमै खटिएर त्यहाँको समग्र बस्तु स्थिति बारे कांग्रेस प्रदेश समितिले जानकारी लिनेछ र त्यहाँको आवश्यक्ताका आधारमा पार्टीले आफ्नो मुभमेन्ट बनाउने छ, यसले गर्दा पार्टी संगठन बलियो बनेर जाने छ।’ यो अभियान तत्कालै सुरु गर्ने कांग्रेस सभापति पुनले जानकारी दिए।