प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक प्रतिनिधि सभामा विश्वासको मत आज लिँदै
रासंसा/काठमाण्डौ, फाल्गुण ३०,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले १४ महिनामै तीन पटक विश्वासको मत लिन लागेका हुन्। फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र उक्त प्रस्तावमाथि छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिने पाण्डेयले जानकारी दिए। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले संसद्मा उपस्थित २७० सांसदमध्ये २६८ जनाले पक्षमा मत दिएका थिए। उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो। राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिएका थिए। दोस्रो पटक पुनः प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा १७२ मत पक्षमा र विपक्षमा ८९ मत र मत दिन्नमा १ मत खसेको थियो। अस्थिर स्वभावका प्रचण्डले आफू अनुकुल नहुनेबित्तिकै गठबन्धन फेरेर सत्ता टिकाउन लागि परेका छन्। चार दलबीच भएको ८ बुँदे सहमतिको एक हप्ता नपुग्दै गठबन्धनमा एकीकृत समाजवादीको प्रवेश भएपछि किचलो सुरु भइसकेको छ। फागुन २१ को गठबन्धनमा एकीकृत समाजवादीको स्वामित्व दिन पाँच दलबीच भएको नयाँ सहमतिको बुँदा नम्बर २ मा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो। यो बुँदा फागुन २९ गतेको नयाँ सहमतिमा उपाध्यक्ष को हुने भन्ने स्पष्ट छैन। हाल उपाध्यक्षमा उर्मिला आर्याल छिन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पावर सेयरिङ हुनुपर्ने भन्दै दबाब दिन थालेका छन्। हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। प्रचण्डले सार्वजनिक कार्यक्रममै माओवादी स्थिरतामा बस्ने नसक्ने बताउँदै उनले नयाँ गठबन्धन बनाएर माओवादी स्थिरता क्रमभंगता गरेको दाबी गरेका थिए। ‘माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो बस्ने होइन। गड्गडाउँदो नदी जस्तो बग्ने नदी हो। यो निरन्तरमा रमाएर स्थिरतामा बस्न सक्दैन।’ सहीद प्रतिष्ठान नेपाललेआयोजना गरेको अन्तर्क्रियामा उनले भनेका थिए,‘निरन्तरमा क्रम भंग गर्दै नयाँ नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी ।’ आफूलाई प्रतिक्रियावादीले अविश्वसनीय भन्ने गरेको बताउँदै उनले भने,‘प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु। उनीहरुका लागि छैन म विश्वसनीय, हुन पनि परेको छैन। आज नयाँ क्रम भंग गर्ने दिन बनेको छ। एकताबद्ध बनौं।’ प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक पर्दछ। प्रधानमन्त्रीका लागि बहुमत हो । हाल केहि सांसद पद रिक्त र केहि निलम्बनमा समेत परेका छन्।