माओवादी केन्द्रको निर्णय नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने
रासंसा/काठमाण्डौ, फाल्गुण २७,
मुलुकमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवार बनाउने भएको छ। आज साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको चक्रपाणी खनालले जानकारी दिए। एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो। उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने निर्णय गरेको छ। माओवादीसँगको गठबन्धनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको थियो। अध्यक्ष बन्ने भनेर राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेको छ। अध्यक्षमा कसलाई उठाउने भन्नेबारे कांग्रेसले टुंगो लगाउन सकेको छैन। महासचिव पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन सम्वत् २०८० फागुन २९ गते मङ्गलबारको सभाको बैठकबाट गर्ने गरी २०८० फागुन २७ गतेको बैठकबाट सम्माननीय अध्यक्षज्यूले निर्वाचनको मिति निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ।’ राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि कार्यतालिका प्रकाशित भएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्। निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात कार्यतालिका प्रकाशित भएको हो। कार्यतालिकामा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको मनोनयन सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हलमा तोकिएको छ। त्यसैगरी दिउँसो १:३० बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन हुनेछ। पाण्डेयका अनुसार मंगलबार ११: ०९ बजेपश्चात संसद बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थक गर्ने, एकभन्दा बढी प्रसि्तावको सूचना प्राप्त हुन आएमा संक्षिप्त छलफल हुने र प्रस्तावलाई दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।