अफगानिस्तानमा भारी हिमपात
एजेन्सी,
अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने, ‘व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकोले स्थानीयहरू निकै चिन्तित बनेका छन् ।’ बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम वर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दस हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अर्का बासिन्दा अमानुल्लाहले विशेषगरी सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावित भएकाहरूका लागि तत्काल सरकारी सहयोगका लागि याचना गरे। कृषि, सिँचाइ तथा पशुपन्छी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताए। अवरुद्ध सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकालाई उद्धार गर्न यी समितिहरू सक्रिय रूपमा लागिपरेका छन् । अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेष गरी पशुधन मालिकहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ । अधिकारीहरूले बाल्ख, जाज्जान, बडगिस, फरयाब र हेरात प्रान्तका पशुधनीहरूलाई राहत सहयोगका लागि पाँच करोड रकम बिनियोजन गरेको छ । अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता एर्फानुल्लाह शराफजोईका अनुसार बडघिस, घोर, फराह, कान्दाहार, हेलमन्ड, जाज्जन र नुरिस्तानजस्ता प्रान्तहरूमा हालैको हिमपातबाट प्रभावित व्यक्तिहरूसम्म पुग्न विभिन्न समूह बनाई उद्धारकर्मी खटाइसकिएको बताए। सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हकशेनासले विगत दुई दिनदेखि परेको भारी हिमपातका कारण यी मार्गहरू अस्थायी रूपमा अवरुद्ध भएको पुष्टि गरे।
भारी हिमपातका कारण सलाङ पासलगायत प्रमुख यातायात मार्गहरू बन्द भएका छन् र घोर, बडघिस, गजनी, हेरात र बामियानजस्ता विभिन्न प्रान्तहरूमा सडकको पहुँच बन्द भएको छ । फर्याब प्रान्तका गभर्नरका प्रवक्ता इस्मतुल्लाह मुरादीले प्रान्तमा भारी हिमपातका कारण अधिकांश जिल्लामा सडक बन्द भएको र दुर्गम क्षेत्रका बासिन्दा अलपत्र परेको जानकारी दिए।