यो मौसमी गठबन्धन हो, मौसम परिवर्तनसँगै बदलिन्छ – नेता खनाल
मिनबहादुर कुँवर/कास्की, माघ २७,
मुलुकमा वर्तमान गठबन्धनबाट समाजवाद नआउने बताउँदै उनले भने, ‘यो मौसमी गठबन्धन हो। कुनै परिस्थितिमा गठबन्धन बनेपनि यसबाट समाजवाद आउँदैन। त्यसैले यो गठबन्धन मौसम परिवर्तन भएसँगै बदलिन्छ।’ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौसमी गठबन्धन भएको बताएका छन्। समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता खनालले वर्तमान सत्ता गठबन्धन आवश्यकताले बनेको र यो मौषमसँगै परिवर्तन हुने बताएका हुन्। उनले कम्युनिष्टहरुबीच फेरीपनि ध्रुवीकरण र एकता हुनसक्ने बताए। नेपाली समाजमा न भुतो, न भविष्यती भन्ने कथन छ, उनले भने, ‘न भुतो त सबैले देखे भोगेकै कुरा हो, तर न भविष्यती भनेर म भन्दिनँ, किनकि वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिष्टहरुबीच फेरी एकता हुनसक्छ।’ ‘जनताका आधारभूत आवश्यक्ताहरुसमेत वर्तमान सरकारले पूरा गर्न सकेन’ ,उनी भन्छन्, ‘त्यही कारण जनतामा असन्तोष पैदा भएको छ। जनता आक्रोश व्यक्त गरिरहेका छन्।’ उनले अहिले देशमा भ्रष्टाचार, कमिसन खोरी, अराजकता, दलाली मौलाइरहेको दाबी गरे। नेता खनालले वर्तमान सरकार यथास्थितिवादमा चलिरहेको टिप्पणी गरे। पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएपछि जनताले धेरै नै आशा गरेको तर त्यो आशा अहिले निराशामा बदलिन थालेको उनको भनाई छ। नेता खनालले नेपालको पुँजीवाद पश्चिमेली देशहरुमा आएजस्तो औद्योगिक पुँजीवाद नभई दलाल पुँजीवाद भएको टिप्पणी गरे। ‘नेपालको पुँजीवाद औद्योगिक पुँजीवाद होइन, यो दलाल पुँजीवाद हो’, उनले अगाडि थपे, ‘साम्राज्यवादीहरुको दलाली गर्छ यसले, नेपालमा उद्योग धन्दा खोल्न दिँदैन, रातारात कमिसन, कालाबजारी आदिको नायक हो दलाल पुँजीवाद।’ नेता खनालले अहिलेको विकल्प भनेको समाजवाद भएको बताए। तर यही गठबन्धनले समाजवाद नआउने भएकाले गठबन्धन बदलिनुपर्ने उनको भनाई छ। उनले दलाल पुँजीवाद प्रशासन, औद्योगिक, वित्तीय, वैदेशिक व्यापारलगायत सबै क्षेत्रमा हाबी भएको बताए। दलाल पुँजीवादले देशमा भ्रष्टाचार, कमिसन खोर, शोषण, जातीय, क्षेत्रीय र लैङ्गिक विभेद बढाउने उनको भनाई छ। उनले प्रचण्डले अहिलेसम्म केही गर्न नसकेको भन्दै अब कोर्ष करेक्सन गरेर भएपनि जनताका माग सम्बोधन गर्न सुझाव दिए। ‘कोर्ष करेक्सन गरेर भएपनि प्रचण्डले केही गरोस् भन्ने म चाहन्छु’, उनले भने, ‘गर्न नसकेमा के हुन्छ, उहाँ आफैलाई थाहा छ।’ नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) समाजवादी क्रान्तिको कार्यक्रम नबन्ने बताए। तत्कालीन समयमा मदन भण्डारीले प्रतिपादन गरेको जबज समाजवादका लागि उपयुक्त नहुने उनको भनाई थियो। नेता खनालले पुनरुत्थानवादीहरुले टाउको उठाउने प्रयास गरिरहेको आरोप लगाए। पूर्व राजा ज्ञानेन्द्र र राजावादीहरुप्रति संकेत गर्दै उनले भने, ‘उनीहरु अहिले चुरीफुरी देखाइरहेका छन् तर यो चुरीफुरी त केहिपनि होइन। फगत यो धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो।’ उनले जबजलाई पार्टीले कहिले पनि मार्गदर्शक सिद्धान्त नमानेको पनि उनले जिकिर गरे।