२५ ओभरमा २ विकेट गुमाएर १५९ रन, नेपाललाई जिततर्फ डोर्याउँदै दुई कप्तान
रासंसा/काठमाण्डौ, माघ २७,
मुलुकमा दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २५ ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर एक सय ५९ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए । उनको विकेट क्यानडाका बलर ईश्वरजोत सोहीले लिएका हुन् । ४.५ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ५५ रन बनाएको थियो । आसिफ शेख र अनिल शाहले ओपनिङ विकेटका लागि महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालका लागि कप्तान रोहित पौडेल ४७ र चौथो नम्बरमा क्रिज समाल्न आएका यू-१९ राष्ट्रिय टोलीका कप्तान देब खनाल ४७ रन बनाउँदै क्रिजमा छन् । नेपालले २३ औँ ओभरमा मात्र २० रन लिएको थियो । हालको अवस्थामा नेपालले जितका लागि प्रत्येक ओभरमा ५।०८ रन बनाउनु पर्ने हुन्छ । अहिले नेपालको रन रेट ६.३६ रहेको छ । अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् । ६.३ ओभरमा अनिल आउट हुँदा नेपालले ६४ रन बनाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी अर्धशतक बनाउँदै आउट भएका हुन् । उनको विकेट पनि ईश्वरजोतले लिएका थिए । सोहीले अनिललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।