प्रहरीको रवि लामिछानेविरुद्ध छानबिन सुरु
मिनबहादुर कुँवर/कास्की, माघ २४,
मुलुकमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान सुरु भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिए । उनका अनुसार लामिछानेले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालिएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोलासहित १४ कम्पनी गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । सहकारी ऐन, २०७४ को दफा १२२(ग) बमोजिमको कसुर देखिएपछि जाहेरी लिइएको प्रहरीले जनाएको छ । सो दफाको खण्ड (छ) मा ‘झुठा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा’ कसुर मानिने व्यवस्था छ । उनले भने, ‘तोकिएभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा भन्ने कानुनी व्यवस्थामा टेकेर अनुसन्धान हुनेछ ।’ सहकारीपीडितद्वारा गठित संघर्ष समिति संयोजक किरण श्रेष्ठ आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने पहिलो माग भन्दै यसमा कोही कसैलाई पूर्वाग्रही नसोचेको जनाउँछन् । सुरुमा व्यक्ति र कम्पनी गरी करिब ९० जनाविरुद्ध जाहेरी दिएकामा प्रहरीले विवरण पूरा नभएको भन्दै लिन आनाकानी गरेको श्रेष्ठले बताए । उनले भने, ‘अहिलेलाई विवरण खुलेका व्यक्तिको मात्रै जाहेरी दिएका छौं, अन्यको पनि विवरण समेटेर अर्को जाहेरी फेरि दिनेछौं ।’ जाहेरीमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरिरहेको गोर्खा मिडिया प्रालि, नेचर नेस्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि, नेचर हब प्रालिले समेत बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले पोखरामा खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना गरेपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन् । सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग रहँदै आएको छ । संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार छन् । तीमध्ये संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । यसअघि, १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोबमोजिम प्रहरीले सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकामा हालसम्म चार जना मात्र पक्राउ परेका छन् । सुरुमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । त्यसपछि सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ, भविश्वर अर्याल पक्राउ परेका हुन् । जिल्ला अदालत कास्कीमा विचाराधीन यस मुद्दामा अदालतको आदेशले उनीहरू चारै जना पुर्पक्षका लागि थुनामा गएका छन् । २६ असार २०६५ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्की’ नाममा संस्था दर्ता भएको थियो । पोखरा महानगर सहकारी शाखाले गठनविज्ञ टोलीको अनुसन्धान प्रतिवेदनअनुसार सहकारीमा १८ हजार ७ सय बचतकर्ता छन् । सहकारीमा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ निक्षेप जम्मा भएकामा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ कर्जा लगानी गरिएको छ । जसमा ४ सय ३३ जनाको नाममा विभिन्न शीर्षकमा कर्जा प्रवाह गरी आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । जीबी राईको समूहले पोखरासहित बुटवल, वीरगन्ज, चितवन, नेपालगन्ज र काठमाडौंबाट ७ अर्बभन्दा धेरै रकम हिनामिना गरेर ठगी गरेको आरोप छ । पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पोखराको मालेपाटनस्थित डेराबाट पक्राउ गरेको हो । पोखरा २३, ठूलाखेत घर भएका ३८ वर्षीय उनी फरार सूचीमा थिए । उनले सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटरब्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेकोे अदालतमा पेस गरिएको अभियोजनपत्रमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले सहकारी ठगीको आरोप लागेका र हाल फरार रहेकाको खोजीका लागि प्रहरीले सूक्ष्म ढंगले काम गरिरहेको र सोही क्रममा भण्डारीलाई पक्राउ गरिएको बताए । भण्डारीले सहकारीका पदाधिकारीसँग मिलेमतो गरी बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । तर, भण्डारीले भने आफूलाई यस विषयमा जानकारी नभएको र सहकारीका पदाधिकारीले मिलेमतो गरी आफ्नो कागजात र नाम किर्ते गरेको जिकिर गरेका छन् । सो सहकारी ठगी प्रकरणमा आरोपित ३३ जनामध्ये अझै २५ जना फरार छन् । पक्राउ परेकामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । जिल्ला अदालतले सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सहकारीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली, सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा बिरौटाका बुद्धिसागर पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीका लेखा संयोजक सूर्यबहादुर अधिकारी भने धरौटी रिहा भएका छन् ।उनलाई मंगलबार जिल्ला अदालतमा हाजिर गराइएकामा आज (बुधबार) बहस हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । मित्रमिलन सहकारी ठगी प्रकरणमा विज्ञको प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकामा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो । सहकारी सञ्चालक समितिका पदाधिकारीसहित बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, सञ्चारकर्मी, अधिवक्ता, प्राध्यापक पनि मुछिएका छन् । फरार रहेकालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।