२२ वर्ष अघि शिक्षक झुण्ड्याइएको दर्दनाक घटनाको अन्याय

Share to:

रासंसा/काठमाण्डौ, माघ ०३,

मुलुकमा बारीको छेउमा उत्तिसको रुख पछाडि हात बाँधेर झुण्ड्याइएका हाफ स्विटर, पाइन्ट लगाएर घुँडा टेकेको निकै कारुणिक तस्बिर सशस्त्र द्वन्द्वकालको चर्चित तस्बिर हो। जुन तस्बिरमाथि वर्षको एक पटक अवश्य चर्चा भइरहेको हुन्छ। हरेक वर्ष माघ ३ मा धेरैले सम्झने हो याे घटना । मुक्तिनाथ सरलाई गाउँकै डाँडामा लगेर मकै बारी छेउमा कञ्चटमा गोली हानी मारे। त्यसपछि उत्तिसको बोटको फेदमा उनकै कपडाले बाँधेर ठड्याइदिएका थिए। चन्दा नदिएको आरोपमा लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २२ वर्ष पूरा भएको छ। २२ वर्ष अघिको याे तस्बिर लमजुङको दुराडाँडाका स्व. मुक्तिनाथ अधिकारीको हो। २०५८ साल माघ ३ गते थियो। लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथले कक्षा ९ मा विज्ञान पढाउँदै गरेका थिए। उनलाई दिउँसो १ः१० बजे माओवादी लमजुङ जिल्ला सदस्यसहितको टोली आएर भनेका थिए, ‘सर, दुई मिनेट काम छ।’ उनलाई कक्षाकोठाबाट माओवादी कार्यकर्ताले अपहरण गरी नजिकैको जंगलमा लगेर रुखमा बाँधी, छुरी प्रहार गरी टाउकोमा गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला परेका थिए। मुक्तिनाथको त्यो तस्बिर २०५८ साल माघ ३० को हिमालखबर पत्रिकामा छापिएको थियो। त्यो तस्बिर खिच्ने व्यक्तिको नाम गोप्य राख्ने सर्तमा लिएको त्यो तस्बिर कसले खिचेका हुन भन्ने अझैसम्म खुलेको छैन। आज मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनलले एक कार्यक्रममार्फत उनलाई श्रद्धाञ्जली दिँदैछन्। १० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वमा राज्य पक्ष र विद्रोही पक्षबाट गरी १७ हजार जना मारिएको मौखिक तथ्याङ्क छ। तर, राज्यको तर्फबाट हालसम्म यकिन तथ्याङ्क छैन। २०५२ साल फागुन १ देखि तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६३ सालमा बृहत् शान्ति प्रक्रियामा टुंगिएको थियो। तर, मुक्तिनाथ जस्तै मारिएका थुप्रै द्वन्द्वपीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन्।

Like