बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
रासंसा/काठमाण्डौ, पौष १४,
मुलुकमा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो । त्यसक्रममा पीडित गौशाला २६ ले समेत आफ्ना कुरा राखेकी थिइन् । उनले कुरा राखेपछि न्यायाधीश ढकाल दोषी ठहर गरेका हुन् । उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए । थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाई पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दैकै सूचीमा परेर लम्बिँदै आएको थियो । मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० मा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।