नेपाल संवत् ११४४ न्हूदँया भिंतुना को वृहत् मार्चपास कार्यक्रम सम्पन्न
रासंसा/काठमाण्डौ,कार्तिक २८,
मुलुकमा उपत्यकाको विभिन्न स्थनमा “नेपाल संवत् राष्ट्रया गौरव, संस्कृति–सम्पदा पुर्खाया पौरख” भन्ने मूल नाराका साथ नेपाल संवत् ११४४ को उपलक्ष्यमा वृहत् मार्चपास कार्यक्रमसमेत सम्पन्न भएको छ । न्हूदँया भिंतु्ना ११४४ को सन्दर्भमा कलंकी माँ नेवाः पुचः येँद्वारा आयोजित उक्त कार्यक्रम काठमाडौँ महानगरपालिको १४ नम्बर वडाका अधिकतम् स्थानीय जनता लगायत आम नागरिक सहभागिताको उल्लेख्य उपस्थिति सहित सम्पन्न भएको हो । कामनपा १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रमुख उपस्थितिमा आयोजित उक्त कार्यक्रम मंगलबार बिहान ९ बजे कलंकी मन्दिरबाट सुरु भई खड्कुले पुल, कलंकी चोक, रविभवन, कालिमाटी हुँदै पुनः कलंकी मन्दिरको कृपा भेन्युमा पुगेर न्हूदँयाको मैत्री शुभकामना आदानप्रदाको संक्षिप्त कार्यक्रम गरी दिवाभोज पश्चात सम्पन्न भएको थियो ।
मार्चपासको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा शुभकामना मन्तव्य राख्दै कामनपा– १४ का अध्यक्ष सुमन श्रेष्ठले न्हूँदयाको यस कार्यक्रममले आम नागरिक बिचको पारस्परिक एकताको सन्देश दिएको बताउनु भयो । १४ नम्बर वडा, कलंकी माँ नेवाः पुचः येँको साथमा रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, “आगामि दिनमा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ जसका लागि यस संस्थाबाट आवश्यक सल्लाह र सुझावको अपेक्षा गरेको छु” बताउनुभयो ।


मार्चपासमा विभिन्न समूहले बाजागाजाको मौलिक सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । दर्जनौँ विशिष्ट कलाकारको धिमे बाजाको प्रस्तुतीले मार्चपास निकै मनमोहक बनाएको थियो । युवा पङ्तीको मार्चपास नृत्यले देख्नेसुन्नेको मुहारमा पलपल प्रफुल्लता प्रकट भएको देखिन्थ्यो भने घरघरबाट मार्चपास हेरेर मुस्कुराउँदै अभिवादन गर्नेको इशाराले बाटाबाटामा नेवारी खाद्य परिकारको सगुन ग्रहण गर्दै हिँडेका पङ्तीलाई अझ जोश थपेको थियो । स्थानीयले कालीमाटी चोकमा सम्पूर्ण सहभागीलाई जुसपान गराएर फुलमाला अर्पण गरी भव्य स्वागत गरेका थिए । समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कलंकी माँ नेवाः पुचः येँ का अध्यक्ष प्रभाकर महर्जनले “नेपाल संवत्लाई नेवारी समुदायको पर्वका रुपमा मात्रै बुझ्ने परम्परागत मान्यतालाई तोड्दै मार्चमास कार्यक्रममा स्थानीय नेवार समुदायसँगै मगर, गुरुङ, राई, लिम्बु, क्षेत्री, बाहुन लगायत आम स्थानीय जनताको उत्साहजनक उपस्थितिले न्हूदँया भिंतुना सम्पूर्ण नेपालीको राष्ट्रिय गौरवको पर्व भएको कुरा पुष्टि भएको” बताउनु भयो ।

कलंकी माँ नेपाः पुचः येँका सचिव बलराम श्रेष्ठका अनुसार न्हूदँया भिंतुनामा हरेक वर्ष यस संस्थाले कार्यक्रम गर्दै आएको छ । यस प्रकारका कार्यक्रमले खासगरी कलंकी क्षेत्रका नागरिकको एकतालाई दरिलो बनाउँदै पर्वको महत्व सबैमा उजागर गरेको सचिव श्रेष्ठको भनाई छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गरेका थिए । शंखधर शाख्वाको स्मृति एवम् नेपाल संवत्को उपलक्ष्यमा हरेक वर्ष न्हूदँया भिंतुना मनाइने प्रचलन छ । नेपाल संवत्लाई सरकारले समेत राष्ट्रिय क्यालेन्डरमा राखेर प्रचलनमा ल्याउने कार्य आरम्भ भएपछि राष्ट्रिय गौरवका रुपमा न्हूदँया भिंतुनाले सार्थकता पाएको छ ।



