प्रतिनिधिहरु आन्तरिक गुटबन्दीमा व्यस्त, एन्फाको विशेष साधारणसभा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २३,

मुलुकमा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा आज हुँदैछ। बिहान ८ बजेबाट रोयल पार्टी प्यालेसमा हुने भनिएको साधारणसभा अहिलेसम्म सुरु हुन सकेको छैन। करिब एक वर्ष अघि कर्माछिरिङ शेर्पालाई हराउँदै एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव गर्न लागिएको छ। यदी उनीमाथी प्रस्ताव दर्ता भएमा एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव पर्ने पहिलो अध्यक्ष हुनेछन्। अध्यक्ष नेम्वाङको काम चित्तबुझ्दो नभएको भन्दै बहुमत सदस्यले कार्यसमिति बैठक बहिस्कार गर्दै आएका छन्। साधारणसभामा सहभागी हुनका लागि प्रतिनिधिहरु हेटौंडा आइसकेका छन्। आएका प्रतिनिधिहरु आन्तरिक गुटबन्दीमा व्यस्त रहेका छन्। कार्यक्रमस्थलमा खासै प्रतिनिधिहरु उपस्थित भैसकेका छैनन्। साधारणसभा हुने रोयल पार्टी प्यालेसमा समाचार संकलनमा पुगेका पत्रकारहरुलाई मुख्य प्रवेशद्वारमै रोकिएको छ। साधारणसभाको पूर्व सन्ध्यामा बस्नुपर्ने बैठक समेत बस्न नसकेको एक केन्द्रीय सदस्यले जानकारी दिए। पंकज नेम्वाङलाई अविश्वासको प्रस्ताव दर्ता गरी हटाउने मुद्दामा पूर्व अध्यक्ष गणेश थापा पक्ष र कर्माछिरिङ शेर्पा पक्ष एक रहेको ती केन्द्रीय सदस्यको भनाइ छ। एन्फामा कुल १०५ सदस्य भएपनि साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहने वैधानिक व्यवस्था रहेको बताइएको छ। अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको आफू निकटका प्रतिनिधिसंग बताउँदै आएका छन्। अध्यक्ष नेम्वाङमाथि नै अविश्वासको प्रस्ताव हुने भएपछि साधारणसभाको अध्यक्षता कस्ले गर्ने भन्ने विषयमा समेत अन्यौलता रहेको छ।

Like