महिना दिनदेखि त्रिपालमै बझाङका भूकम्पपीडित

Share to:

रासंसा/बझाङ, कार्तिक २०,

मुलुकमा थलारा गाउँपालिका–३ कुचगाउँकी ७० वर्षीया हंसा नेपाली बुहारी र दुई नातीसहित एक महिनादेखि पालमा बसिरहेकी छन् । पालमा बस्दा राति शित चुहिन्छ । दमकी रोगी उनको बिमार दम दिनदिनै बढिरहेको छ । ‘चिसोले रातभरी सुत्न सकिदैन । खोकेरै रात बिताइरहेकी छु । बुहारी र नाती पनि ढाड कम्मर दुख्यो भनेर सुत्न सक्दैनन्,’ उनले भनिन्, ‘मलाई त दिनदिनै गाह्रो हुन थाल्या छ । कुन दिन पुक्लुकै ढल्छु थाहा छैन ।’ भूकम्प गएको चौथो दिन ठूलो तामझामसहित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा सुनेकी उनी महिना दिनसम्म पनि राहत नपाउँदा निरास छन् । ‘प्रधानमन्त्री आएको हेलिकप्टर देखेकी हुा । घर भत्केकालाई टिनको टहरा बनाउन ५० हजार आउँछ भन्ने पनि सुनेकी हुँ,’ उनले भनिन्, ‘अहिलेसम्म केही आएको छैन । पैंसा हुनेले आफै टहरा हालेर बसिसके । हामी नसक्ने यहीं शित चुहुने पालमा छौं । मरिसके पछि राहत आए पनि के काम ?’ हंसाको गाउँ थलारा–३ कुचगाउँका ३५ घर भूकम्पले पूर्णरुपमा क्षति भएका थिए । क्षमता हुनेले टिनको टहरा बनाएर सरिसके पनि १२ परिवार अहिले पनि पालमूनि नै बसिरहेका छन् । उनीहरुलाई नागरिक आवाज भन्ने संस्थाले बिहान र साझको खाना खुवाउने गरेको छ । असोज दोस्रो साता गएको भूकम्पका कारण बझाङका १२ हजार घरमा क्षति पुगेको थियो । ८ हजार ५ सय २९ घर बस्न नमिल्ने गरि क्षति भएका थिए भने ३५ सय २४ घरमा सामान्य क्षति भएको थियो । बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको असोज १६ गते दिउँसो गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसपछि लगातारका पराकम्पले सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको थियो । ‘खाना त संस्थाले खुवाइरहेको छ । चिन्ता राति कसरी सुत्न कै छ ? दुई वर्षको नातीसहित परिवारनै पालमा बसिरहेकी अर्की पिडित धिर्जादेवी कामीले भनिन्, ‘चिसोले गर्दा विरामी नभएको कोही छैनन् । साह्रै सास्ती भयो ।’ उनले अस्थायी आवास निर्माणको लागि सरकारले दिन भनेको राहत छिटो उपलब्ध भैदिए टिनको टहरो बनाएर सर्ने बताइन् । भूकम्पका कारण जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यू गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको थियो । ती पालिकाहरुका पाँच हजार बढी घर बस्न नमिल्ने गरी क्षति भएको विपद व्यवस्थापन समितिको तथ्यांक छ । उनीहरु मध्ये आधाजसो पालमा बसिरहेको र पालभित्र रहेकालाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्या हुन थालेका छन् । उनले तत्काल पीडितलाई पालबाट सुरक्षित स्थानमा बसाउन नसकिए बालबालिका र पाका उमेरका मानिसलाई झन् समस्या हुने बताए । ‘हिमाली जिल्ला भएकोले उसै पनि दिन दिनै चिसो बढिरहेको छ । हिउा पर्यो भने पालमा बस्नेहरु झन् समस्यामा पर्ने देखिन्छ,’ उनले भने । पालभित्र बसेकालाई झाडापखाला, रुघाखोकी, दम, ढाड कम्मर दुख्ने, बच्चाहरुलाई निमोनिया, टाइफाइड जस्ता समस्या रहेको थलाराको पाराकाट्ने स्वास्थ्य चौकीका अहेव गौरीशंकर जोशीले बताए । ‘चिसो भुईमा सुत्दा, पालबाट चुहिने शितको कारणले पालमा बस्नेहरु अधिकांश विरामी भएका छन्,’ जोशीले भने ‘चिसो बढ्दै जाादा पनि पाल भित्रै बस्नु परेकोले पिडितहरुमा मानसिक तनाव पनि देखिन्छ ।’ प्रधानमन्त्री दाहालले भूकम्पग्रस्त क्षेत्रको भ्रमण गर्ने क्रममा बझाङमा आएर अस्थायी राहत निर्माणको लागि घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार र आंशिक क्षति भएका परिवारलाई २५ हजार राहत तत्काल उपलब्ध गराउने घोषणा गरेका थिए । ‘पालिकाबाट आएको विवरणमा धेरै त्रुटि देखिएको र नक्कली पीडितहरु बनाएर पेश गरिएको भन्ने धेरै गुनासो आएको छ । वायस भएर कतिपय आउनुपर्ने पीडितको नाम आएको छैन । कतिपय नआउनुपर्नेको नाम पनि समेटिएको छ । त्यसैले अस्थायी र स्थायी आवास पुर्ननिर्माणमा हामी त्यो तथ्यांक प्रयोग गर्दैनौं,’ उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा पुर्ननिर्माण प्राधिकरणबाट आएको प्राविधिक टोलीले प्रत्येक घरमा गएर नापजाँच गरिसके पछि मात्रै सिस्टममा नाम इन्ट्री हुन्छ । त्यसपछि मात्रै नयाँ पुर्ननिर्माण नभएसम्म बस्नका लागि अस्थायी घर निर्माणको रकम दिइने हो ।’ उनले अन्य भूकम्पपीडितलाई परिवार संख्याको आधारमा १५ देखि २० हजार रुपैयाँसम्म राहत दिने घोषणा गरेका थिए । पीडितहरु समस्यामा रहे पनि सरकारले तत्काल दिने भनेको राहत तिहार अगावै वितरण हुने कुनै संकेत देखिएको छैन । पालिकाले पठाएको तथ्यांकमा विश्वास गर्न गाह्रो भएको कारण वास्तविक पीडितको पहिचान गरे पछि मात्रै अस्थायी आवास निर्माणको लागि राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । उनले प्राधिकरणसँग आफुले प्राविधिकको टिम छिटो पठाइदिनका लागि निरन्तर अनुरोध गरिरहेको बताए । ‘प्राधिकरणका उपसचिव बझाङमै आएर प्राविधिक टोली दसैं लगतै आउँछ भनेर प्रतिबद्धता गर्नुभएको थियो तर के कारणले हो अहिलेसम्म आएको छैन,’ उनले भने । बझाङमा भूकम्पले विद्यालय, स्वास्थ्य चौकीलगायत १ सय २३ सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १५२ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण मन्दिर, सामुदायिक भवनलगायत अन्य ५० संरचनामा पनि क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भूकम्पका कारण क्षति भएका १२ हजार ५३ घर मध्ये २ हजार ४ सय ४५ घर पूर्णरुपमा ध्वस्त भएका हुन् भने ६ हजार ८४ घर बस्न नमिल्ने गरी आंशिक क्षति भएका हुन् ।

Like