मुख्यमन्त्री कार्कीको कात्तिक १ मा विश्वासको मत लिने तयारी
रासंसा/मोरङ, आश्विन २९,
मुलुकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार कात्तिक १ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने विषयमा छलफल सुरु गरेका छन्।
नेपाली काँग्रेसलगायतको चार दलिय गठबन्धनको निर्णयविरुद्ध कार्कीले विद्रोह गरी काँग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गठबन्धन दलहरूले नेकपा माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए। ‘सम्भवतः आजै प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता हुनेछ’ स्रोतले भन्यो। कोशी प्रदेशको आठौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका सांसद केदार कार्की असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका थिए।