सुकुम्बासी–प्रहरीबीच नुवाकोटको सिम्बुटारमा घरटहरा भत्काउँदा झडप
रासंसा/नुवाकोट, भाद्र ९,
मुलुकमा भूकम्पपछि सुरक्षित स्थान खोज्दै आएर विदुर नगरपालिका-१ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई स्थानीय प्रशासनले शनिबार बल प्रयोग गरेर हटाइएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गर्नुपरेकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए । ‘नगरपालिकाले पटक-पटक ठाउँ छाड्न गरेको आग्रहलाई अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा हटाइएको हो,’ प्रजिअ पौडेलले भने, ‘०७५ सालदेखि विभिन्न निकायले पटक-पटक कोसिस गर्यो । ३ पटक वडाले, ३ पटक नगरपालिकाले, सर्वदलीय बैठकबाट निर्णय गरेर आग्रहसहित माइकिङ गर्दा पनि नहटेपछि नगरपालिकाले नेतृत्व लिएर अगाडि बढ्न चाहेको बेलामा सुरक्षा दिएका हौ ।’ घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । घटनामा प्रहरीले ७ जनालाई पक्राउ पनि गरेको छ । सुकुम्बासीको ढुंगामुडाबाट केही प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक रुद्र कँडेलको टाउकोमा गहिरो चोट लागेको छ भने एक सहायक हवल्दार घाइते भएका छन् । भूकम्पपीडितले भने हटेर जाने समय नै नदिइ घरटहरा जबर्जस्ती भत्काएको बताएका छन् । सिम्बुटार बस्दै आएकी रसुवा ठूलोहाकुकी मिना घलेले बर्खाको बेला नहटाइदिन आग्रह गरे पनि प्रशासनले बलमिच्याइँ गरेको बताइन् । ‘बाढीपहिरो आएका बेलामा हामी कहाँ जाने ?,’ उनले भनिन्, ‘बर्खामासमा कहाँ गएर बस्ने ? समय दिनु पर्यो । चराचुरुंगीले त गुँड खोजेर बसेको छ, हामी त मान्छे हो ।’ व्यवस्थित बसोबास भएपछि जान्छौं भने पनि जबर्जस्ती बिचल्ली पारिएको उनले बताइन् । नुवाकोट किस्पाङ-१ भाल्चेका जीतबहादुर घले भूकम्पले गाउँ तहसनहस पारेकाले बस्ने ठाउँ नभएरै सिम्बुटारमा शरण लिएको बताए । ‘गाउँमा पहिरो छ । बर्खाको बेला नउठाइदिए हुन्थ्यो,’ उनले भने । सोही ठाउँकी श्रीमाया घलेले तीन महिनाजति समय दिए सर्न तयार रहेको आग्रह गर्दागर्दै घरटहरा भत्काएर बिजोग बनाइदिएको बताइन । उनले भनिन् ‘हामीलाई जाने ठाउँ व्यवस्था गरिदिनुस् जग्गा छोडिदिन्छु भनेका हौं ।’ २०७२ वैशाखको भूकम्पपछि विभिन्न ठाउँका विस्थापित सिम्बुटारमा बसोबास गर्दै आएका थिए । सुरुवातका केही वर्ष भूकम्पपीडितका बस्तीमा राहत पनि वितरण गरिएको थियो । विदुर नगरप्रमुख राजन श्रेष्ठले पटकपटक समय दिँदा पनि नहटेपछि जबर्जस्ती गर्नु परेको बताए । ‘उहाँहरुलाई समय दिएका थियौं,’ उनले भने,‘जहिले पनि एक/एक वटा बहाना गरेर बस्दै आए । अति भएपछि बल गरेर हटाउनु पर्यो ।’ सुरुमा म्यागङ, किस्पाङ, सूर्यगढी गाउँपालिका र रसुवा हाकुका गरी ९३ घरपरिवार भूकम्पपीडित बसेका थिए । पछि २८ घरधुरी आफ्नो थातथलो फर्किए भने ६५ धुरी बसिरहेका थिए । भूकम्पपीडितका लागि निजी आवास निर्माणमा सघाउने सरकारी लाभग्राही सूचीमा परेर राहत लिए पनि थातथलो फर्किन नमानेकालाई विदुर नगरपालिकाले २०७५ देखि सिम्बुटारको जग्गा खाली ३/३ पटक ताकेता गर्दा अटेर गरेको जनाएको छ । सिम्बुटारमा भूकम्पपीडित बसेको जग्गा विदुर नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले २०७९ सालमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको नाममा सरकारले भाडामा दिएको छ । उक्त जग्गा १ सय ४३ रोपनी छ ।