मदन भण्डारी र सिद्धिचरण लोकमार्ग अबिरल वर्षाले अवरुद्ध
रासंसा/उदयपुर, भाद्र ९,
मुलुकमा ३ दिनयताको अविरल वर्षाका कारण मदन भण्डारी र सिद्धिचरण लोकमार्गलगायत जिल्लाका लामा छोटा अधिकतर सडकहरु अवरुद्ध भएका छन्। बिहीबार रातिदेखि लगातार भईरहेको वर्षाले ठाउँठाउँमा पहिरो जानुका साथै बाढी आउनाले शुक्रबारदेखि सडक अवरुद्ध हुन पुगेका हुन्। सो ठाउँमा २ साताअघि पनि यसरी नै पहिरो गएर २४ घण्टा सडक अवरुद्ध हुन पुगेको थियो। ३ दिनयता वर्षा निरन्तर भईरहेपछि त्यहाँ फेरि पहिरो गएर सडक अवरुद्ध हुन पुगेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ। केन्द्रका अनुसार लगभग ५० मिटर पहिरो जाँदा १ सय मिटर सडक पुरिएर बाटो अवरुद्ध हुन पुगेको छ। शुक्रबार विहानै पहिरो गएर सडक पुरेका काराण् सो लोकमार्ग भएर चल्ने सयौँ ठूला साना सवारी साधन रोकिन पुगेका छन्। जिल्लाको उदयपुरगढी गाउँपालिका ६ मौवासी खोलास्थित पहिरो जाँदा मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको यातायात अवरुद्ध हुन पुगेको छ। मौवासीमा भर्खरै निर्माण सम्पन्न भएको पक्की पुलको पहुँच (एप्रोच) मार्ग सडक फराकिलो पार्दा ताछेको भित्तामा निरन्तर पहिरो जाने गर्दा सडक अवरुद्ध हुन पुगेको यातायात व्यवसायीहरु बताउँछन्। पुलको पश्चिमतर्पmको सडक साँघुरो भएकाले सडक स्तरोन्नति गर्न केही मिटर भित्ता ताछ्नु परेको हो। तर, ताछेकै ठाउँमा सामान्य वर्षा भयो कि पहिरो जाने गर्दा केही समययता निरन्तर सडक अवरुद्ध हुँदै आएको छ। पछिल्लो समय यो लोकमार्ग भएर झापा, बिराटनगर, इटहरी, धरान भएर पूर्वी भेगबाट राजधानी जाने र आउने बाक्लो संख्यामा सवारी साधन आउजाउ गर्ने गरेका छन् । धरानदेखि सिन्धुलीको भिमानसम्म अत्याधुनिक अस्फाल्ट प्रविधिको डबल लेन पक्की र छोटो दूरीको सडक भएका कारण यो लोकमार्ग भएर आउजाउ गर्ने सवारी साधनको संख्या ह्वात्तै बढेको छ। पुष्पलाल मध्ये पहाडी लोकमार्ग सबैतिर नपुगेका कारण ताप्लेजुङ, पाँचथर, इलामबासी झापा झरेर, संखुवासभा, तेरथुम, धनकुटा र भोजपुरबासी तथा खोटाङको पूर्वी खण्डबासी पायक पर्ने सडक भएर यो लोकमार्गसँिग जोडिदै राजधानी आउजाउ गर्ने गरेका छन्। लोकमार्गका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले २४ घण्टादेखि अवरुद्ध सडक छिटोभन्दा छिटो खुलाउन प्रयास भईरहेको बताए। स्वयं साईटमा बसेर पहिरो पन्छाउने काम गरिरहेका इन्जिनियर राईका अनुसार पहिरो खसेर सडक अवरुद्ध भएका कारण दुवैतर्फबाट सयौँ गाडी रोकिदा हजारौँ यात्रु अलपत्र परेका छन्। दुवैतर्पm पहाडले च्यापिएको खोँच भएकाले डाईभर्सन निकाल्ने ठाउँ नहुँदा यात्रुलाई सास्ती भोग्नु परेको उनको भनाई छ। बैजनाथ खोला साँघुरो रहेको र सडकको डाईभर्सन निकाल्ने ठाउँ नै नहुँदा पहिरो नपन्छाएसम्म अवरुद्ध सडक खोल्नुको कुनै बिकल्प नभएकाले छिटो छिटो काम गरिरहेको राईले बताए। उता मिर्चैया–कटारी–घुर्मी सडक पनि शुक्रबार दिउसोदेखि अवरुद्ध हुन पुगेको छ । सिद्धिचरण लोकमार्गमा आधा दर्जन ठाउँमा पहिरो गएर पुर्दा सडक अवरुद्ध हुन पुगेको हो। मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सो लोकमार्ग कटारी नगरपालिका ११ स्थित वेतेनीदेखि १४ नं. वडाको लेखानीसम्मको खण्डमा बिभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका प्रमुख डिएसपी रविन कार्कीका अनुसार अवरुद्ध सडक शनिबार मध्यान्हसम्म खुलेको छैन।
डाईभर्सन नभएका कारण पूर्वबाट आएका सवारी साधनलाई गाईघाट फर्काएर सिराहाको लहान हुँदै पूर्वपश्चिम लोकमार्ग भएर पठाउन थालिएको छ भने पश्चिमबाट आएकालाई कटारी फर्काएर मिर्चैया हुँदै पूर्वतर्फ पठाउन थालिएको छ। यसरी घुम्नु पर्दा पूर्वका सवारी साधनलाई गाईघाट फर्केर जानुपर्दा झण्डै ५० किलोमिटर र पश्चिमबाट आएकालाई कटारीसम्म फर्केर ३५ किलोमिटर अतिरिक्त सडक पार गर्नुपर्ने बाध्यता रहेको छ। सडक खुलाउन कटारी घुर्मी सडक योजना कार्यालय कटारी, यातायात व्यवसायी, नगरपालिका, प्रहरी र स्थानीयबासी मिलेर प्रयास गरिरहेका छन्। योजना कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार लेखानी खण्डका पहिरोहरु पन्छाउने काम सकिन लागेको छ भने यता बेतिनीतर्फ खसेको पहिरो पनि हटाउने काम धमाधम भईरहेकाले शनिबार साँझसम्ममा एकतर्फी खुल्ने संभावना रहेको छ।
