सिआइबी राडरका व्यापारी बेपत्ता

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १८,

मुलुकमा बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन्। सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरू बेपत्ता भएका हुन्। सिआइबीका अनुसार ललिता निवास जग्गा प्रकरणमा तानिएका व्यापारीहरू हाल फरार रहेकाले उनीहरूको खोजीकार्य जारी छ। सिआइबी स्रोतका अनुसार विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयल यतिबेला सिआइबीको पक्राउ सूचीमा छन्। उनीहरू अहिले नेपालमा नभएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन। गोयल सनराइज बैंकको संस्थापक सेयर सदस्य हुन्। गोविन्द संघाई, कैलाश गोयल, संगीता बोथरा पनि फरार छन्। उनीहरूलाई नेपाल फर्काउन दिल्ली प्रहरी र दुबई प्रहरीसँग सहकार्य भइरहेको स्रोतले जानएको छ। उनीहरूले भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी तथा अर्का व्यापारी मीनबहादुर गुरुङसँगको सेटिङमार्फत जग्गा किनेका हुन्। सोही आरोपमा प्रहरीले पक्राउ अनुमति लिएको तर उनीहरू भने अहिले मोबाइल अफ गरेर अन्य सबै प्रकारका सञ्चार सम्पर्कबाट विच्छेद भएको प्रहरीले जनाएको छ। ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हत्याउने क्रममा प्रत्यक्ष संलग्न नभए पनि सरकारी जग्गा हो भन्ने थाहा हुँदाहुँदै उनीहरूले सेटिङमार्फत जग्गा खरिद गरेका कारण अनुसन्धानको दायरामा तानिएको सिआइबीका एक उच्च अधिकारीले बताए। ललिता निवासको जग्गामा यसअघि अख्तियारले १७६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ६५ जनालाई भने जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाइएको थियो। मन्ती गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, उमा प्रसाईं, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुबिस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्यलगायतलाई जग्गा फिर्ता गर्न सुझाइएको थियो। तर उनीहरूले जग्गा फिर्ताको प्रक्रिया अघि बढाएका छैनन्। सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगीता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल वंशल, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, नितु गुरुङ, रीता गौतम खनाल, रत्नहिरा बज्राचार्य, प्रवीण ताम्राकार, विजय ताम्राकार, माया शेर्पा गौचनका नाममा रहेको जग्गा पनि फिर्ता गर्नुपर्ने अख्तियारको दाबी छ। उनीहरू सबै मौन छन्। तर सिआइबीले जग्गा फिर्ता भए पनि नभए पनि उनीहरूविरुद्ध अनुसन्धान गरेर मुद्दा लगाउन सिफारिससहितको प्रतिवेदन तयार गरिरहेको बताइएको छ। सिपिका खेतानलाई भने प्रहरीले पक्राउ गरेर जग्गा फिर्ता गर्ने सर्तमा हाजिरजमानीमा छाडेको छ। सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्। महेशराज तुलाधर, द्वारिकादेवी श्रेष्ठ, इन्द्रदेव गुरुङ, इन्दु शर्मा, सन्दीप ढकाल, भवानी जोशी, भारती पाण्डे, विवेककुमार सुवेदी, केशव तुलाधर, अनितादेवी कंसाकार, अम्बिरमान ताम्राकार, अनिलमान ताम्राकार, गायत्री श्रेष्ठ, पञ्चनारायण महर्जन, राधा सिग्देल, मचाबाबु प्रजापति, रूपेशकुमार सुवेदी, सरोज ढकाल, पहलमान गुरुङ, पुरुषोत्तम पौडेल, विजेन्द्र जोशीलगायत यी जग्गाधनीविरुद्ध पनि अनुसन्धान गरी मुद्दा चलाउन सिफारिसको तयारी गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई पनि फरार छन्। ललिता निवासको सरकारी जग्गा रहेको खुलेपछि प्रहरीले खोजी सूचीमा राखेकाले उनी फरार भएका हुन्। यतिबेला केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियालाई प्रहरीले पक्राउ गर्न सकेको छैन। ललिता निवासको सरकारी जग्गा केडियाका नाममा रहेको पाइएपछि सिआइबीले यस विषयमा अहिले अनुसन्धान गरिरहेको र त्यो थाहा पाएकाले उनी फरार छन्। केडिया तथा उनका आफन्तका नाममा ललिता निवासको जग्गा रहेको पाए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको थिएन। अख्तियारले केडियासहित व्यक्तिका नाममा रहेको जग्गा सरकारका नाममा ल्याउनुपर्ने भन्दै मुद्दा चलाएको थिएन। संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बर ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गा आफ्नो नाममा किनेका थिए। उनलाई पनि जग्गा फिर्ता गर्ने सर्तमा अख्तियारले मुद्दा चलाएको थिएन। उनी यतिबेला देशबाहिर रहेको प्रहरीको दाबी छ। संघाई यसअघि नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ परेका थिए।नेपालमा किया गाडीका बिक्रेता पुरुषोत्तम पौडेल पनि सिआइबीको खोजी सूचीमा हुन्। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष र कार्यकारी निर्देशकसमेत रहेका पौडेल अहिले फरार छन्। काठमाडौं रहेका पौडेलका नाममा सिट नम्बर १०२५–२० मा कित्ता नम्बर ९२ को जग्गा छ। उनी पनि देशबाहिर रहेको प्रहरीको दाबी छ। इन्दु शर्माका नाममा पनि ललिता निवासको जग्गा भेटिएको छ। इन्दुका नाममा सिट नम्बर १०२५–२० को कित्ता नम्बर ९६, १०५, १०७, १०९, १११, ७३, सिट नम्बर १०२५–१९ को ७२, ७६, १९ र २१ नम्बर कित्ताका करिब १३ रोपनी जग्गा रहेको देखिन्छ। गोयल समूहका अध्यक्ष तथा सनराइज बैंकका संस्थापक सेयरधनी कैलाशचन्द्र गोयल पनि ललिता निवास प्रकरणमा मुछिएपछि फरार छन्। कैलाशचन्द्र गोयलको डिएलएफ डेभलपर्सका नाममा ललिता निवासको १९ रोपनी जग्गा देखिएको छ। गोयल समूहले बैंकदेखि निर्माण कम्पनीहरूसमेत सञ्चालन गर्दै आएको छ। सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा पनि प्रहरीको खोजी सूचीमा छन्। विराटनगरको औद्योगिक घराना सारडा ग्रुपमा सञ्चालक शिवरतन प्रहरीले खोजी गरेपछि भारततर्फ भागेको दाबी गरिएको छ। सारडा दाजुभाइले व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसँग जग्गा खरिद गरेका थिए। प्रहरीले पक्राउ गर्ने थाहा पाएपछि विराटनगरका व्यापारीहरूले सारडा ग्रुपका अध्यक्ष र सदस्यलाई पक्राउ नगर्न सरकारसँग लबिङ नै गरेका थिए। सिआइबीले खोजी गरेपछि विराटनगरमा रहेका शिवरतन सारडा, उनका छोरा सन्दीपकुमार, भाइ श्रीनिवास, राधेश्याम, पवनकुमार फरार भएका छन्। सञ्जयकुमार चाचन, प्रमोद गुरुङलगायत व्यापारी पनि फरार रहेको प्रहरीले जनाएको छ। सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा सरकारी दस्तखत तथा कागजात किर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सिआइबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको थियो। तीमध्ये २१ जना पक्राउ परेका छन्। सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले अनुसन्धान भइरहेकाले सो जग्गामा मुछिएका जोकोही जुनसुकै बेला पक्राउ पर्न सक्ने बताइन्। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान नसकिएसम्म फरार सूचीमा रहेका पक्राउ पर्न सक्छन्, हामीले अनुसन्धानको सूचीमा रहेका सबैलाई अनुसन्धानको दायरामा ल्याउने कोसिस हुनेछ,’ एआइजी बज्राचार्यले भनिन्। मेरो नाममा बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र कित्ता नं. ७४२ क्षेत्रफल २५४ –३२ वर्ग मिटर जग्गा छ। मैले उक्त जग्गा मनोज कुमार गौतमसँग मिति २०७१ कात्तिक १४ गते २४ लाखमा सज्जनकुमार चाचनसँग मिली संयुक्त रूपमा खरिद गरेकी हुँ। उक्त जग्गा सरकारी हो भनी मलाई थाहा थिएन। मैले खरिद गरेको कि.नं. ७४२ को जग्गा ललिता निवासभित्रको जग्गा हो भन्ने थाहा थिएन। उक्त जग्गा मनोजकुमार गौतमसँग मिति २०७१ कात्तिक १४ गते मालपोत कार्यालयबाट राजीनामा रजिस्ट्रेसन पास गरी रू. २४ लाखमा म र छोरी देवान्सी गोयलका नाममा संयुक्त रूपमा खरिद गरिएको हो। बालुवाटारमा मेरो नाममा भएका कित्ता नं. ५४०, २१२, २५७, ५४४, ५५८ र ५७८ का जग्गाहरू छन्। ती जग्गाहरू सरकारी भएको जानकारी मलाई भएन, त्यस्तो जानकारी भएको भए सो जग्गा म किन्ने नै थिइनँ। मैले ती जग्गाहरू शोभाकान्त ढकाल तथा रामकुमार सुवेदी र रजनी पनेरूबाट नेपाल सरकारको कानुनबमोजिम रजिस्ट्रेसन शुल्क बुझाई खरिद गरेको हुँ। बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र मेरा नाममा कायम रहेका जग्गाहरू मेरो पति नवीन खेतानले भनेपछि १२ वर्षअगाडि मीनबहादुर गुरुङसँग किनेको हुँ। मेरो नाममा काठमाडौं जिल्ला बालुवाटारमा कित्ता नं. ४७२ को जग्गा रहेको छ। यो जग्गा मैले मीनबहादुर गुरुङसँग एनडिइपी बैंकबाट लोन गरेर लिएको हो। उक्त जग्गा मैले डोर कार्यालयमार्फत लिखत गरी ७ लाख रूपैयाँ आनाको दरले लिएको थिएँ। जग्गा बिक्रीमा छ भनेर मैले नवीन खेतानबाट थाहा पाएको हुँ। उक्त जग्गा सरकारी हो भनेर मलाई कुनै जानकारी थिएन। मेरो नाममा बालुवाटारस्थित ललिता निवास क्याम्पमा कित्ता नं. ४५७ र कि.नं. ५०० का दुई कित्ता जग्गा अगम ढुंगानाबाट रु. १ लाखमा खरिद गरेको र ऐ.ऐ.मा रहेको कि.नं. ४९७ र कित्ता.नं. ४८९ का जग्गा चमेली श्रेष्ठको अ.वा. मीनबहादुर गुरुङबाट मिति २०६४ भदौ ६ मा खरिद गरेको हुँ। ऐ.ऐ. को कि.नं. ५०१ क्षेत्र जग्गा सरस्वती घले गुरुङबाट २५ लाख ३१ हजार रूपैयाँमा खरिद गरेको हुँ। ती जग्गाहरू सरकारी हो भन्ने मलाई जानकारी थिएन।
मेरो नाममा बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र कित्ता नं. २२५, ४०६, ५२३, ५२१, ६३१, ६३३, ६३४, ६३७ का जग्गाहरू छन्। मैले ती जग्गा सरोज ढकाल र रूपेशकुमार सुवेदीबाट म मनोजकुमार केडिया, शोभाकान्त ढकाल र रामकुमार सुवेदीले मिली २०६५ मंसिर ११ मा खरिद गरी तथा शोभाकान्त ढकाल र रामकुमार सुवेदीसमेत दुईजनाको हकहिस्सा जम्मा रु. ३ करोड ३६ लाख ८० हजारमा पटकपटक गरी किनेको हुँ। जग्गाका काम गर्ने मान्छेहरूले बालुवाटारमा जग्गा रहेको भनी शोभाकान्त र रामकुमार सुवेदीलाई भेट्टाइदिनुभएको थियो। ती जग्गाहरू मालपोत कार्यालय डिल्लीबजारबाट पास गरेको हुँ।

Like