नक्कली शरणार्थी प्रकरणका फरार अभियुक्त कोही अमेरिका, कोही भारत

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२,

मुलुकमा ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकामध्ये अशोक पोखरेलसहित केही अभियुक्त अमेरिकामा र प्रतीक थापा भारतमा रहेको सूचना छ, केही अभियुक्त स्वदेशमै रहेको पनि बुझिएको छ, खोजी गर्दै छौं,’ प्रहरी स्रोतले राजधानीसँग भन्यो ।नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् । उनीहरूविरुद्ध प्रहरीमा जाहेरी परेपछि अमेरिका पुगेका पाइएको हो । यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भारतमा रहेको प्रहरीसमक्ष सूचना आएको छ । प्रहरीको फरार सूचीमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजीतका छोरा निरज राईसहित केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनितासावदेन लिम्बु, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले फरार सूचीमा रहेका अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए । यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी डा. मनोज केसीले पनि प्रहरीले आफ्नो संयन्त्रमार्फत देश तथा विदेशमा रहेका अभियुक्तहरूको खोजी गरिरहेको बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको थियो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि पक्राउ परेकाहरूको बयान सकाएर थुनछेक बहस जारी छ । उनीहरूबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ असुलउपर गर्न माग गरिएको छ । हालसम्म सो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा पेस गरेको अभियोगपत्रमा ३० अभियुक्तका ४३ प्रमाण उल्लेख गरेको छ । जसमा प्रहरीसमक्ष जाहेरवालाले बुझाएका फुटेजदेखि, बैंक भौचर र चेकसम्म प्रमाणका रूपमा छन् । यस्तै अभियुक्तका मोबाइलमा भेटिएका म्यासेज, उनीहरूबाट बरामद कागजात र आर्थिक लेनदेनका विषयसम्म प्रमाणका रूपमा छन् । यसैगरी, सोही प्रकरणमा केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । यस्तै, फरार सूचीमा रहेका भनिएका हरिभक्त महर्जन र लक्ष्मी महर्जन पनि पक्राउ परिसकेका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा उनीहरूलाई विभिन्न पाँच कसुरमा मुद्दा अघि बढाउन राय दिइएको छ । उनीहरूमाथि ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । अभियोगपत्रमा प्रतिवादीका बयानसँगै अन्य दसी प्रमाणसमेत पेस गरिएको छ । सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा जाहेरवालाले जाहेरी दरखास्त साथ दिएका पेनड्राइभमा वारदातको मिति र समयसहितका फुटेज राखिएको छ ।

Like