हाइपो थाइरोइडिज्मका ८ र हाइपर थाइरोइडिज्मका ९ लक्षण
रासंसा/काठमाण्डौ, बैशाख २१,
थाइराइड भनेको एउटा ग्रन्थी हो। थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोइडिज्म भनिन्छ। हाइपर थाइरोइडिज्म २ बर्ष औषधि सेवन गरे निको हुनसक्छ। हाइपो थाइरोइडिज्ममा चाहिँ धेरैजसो बिरामीले जीवनभरी नै औषधि सेवन गर्नुपर्छ। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ। थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो। त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ। कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ। थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ। तर यो रोग महिलामा बढी देखिन्छ। रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ। महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो। यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो। यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन। अथवा बढी काम गर्न दिँदैन। कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ। तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ। बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोइडिज्म रोग लाग्नसक्छ। यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ। यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन्। यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ। त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ। अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ। गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ। हाइपर थाइरोइडिज्ममा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ। हाइपो थाइरोइडिज्ममा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ। कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन्। युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ। शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो। तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ। रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन्। मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ। कहिले काहिं हाइपर थाइरोइडिज्ममा मधुमेह रोग पनि देखिन सक्छ। यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ। थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन।
हाइपो थाइरोइडिज्मका लक्षण : महिनावारी नियमित नहुने, मोटोपना, अल्छी लाग्ने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडोहुने, कपाल झर्ने, प्रजनन् क्षमतामा कमी आउने छन् ।
हाइपर थाइरोइडिज्मका लक्षण : एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने,
दिसा बढी लाग्ने, महिनावारी गडबडी, मन आत्तिने, मानसिक तनाव बढी हुने,कपाल झर्ने हुन् ।