खुमलटारलाई एनआरटीले हरायो शहीद स्मारक ए डिभिजन लिगमा
रासंसा/काठमाण्डौ, बैशाख ६,
मुलुकमा यसै सिजन बढुवा भएको खुमलटार युथ क्लवलाई मंगलवार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ। शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोली पहिलो हाफमा गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए। खेलको २३ औं मिनेटमा एनआरटीका निकोलस सङले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको प्रयास निकै फितलो भएको थियो। लगत्तै खुमलटार काउन्टरमा गरेपनि सफल हुन सकेन। ३१ औं मिनेटमा खुमलटारका अभिषेक बर्माको लामो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिँदा खुमलटारको अवसर खेर गएको थियो। खेलको ३३ औं मिनेटमा अनमार्क रहेका एनआरटीका सरोज तामाङ पेनाल्टी बक्सभित्र चुके। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सरोजले अर्को अवसर खेर फाले। फ्री हेडर बललाई सही दिशा दिन नसक्दा खुमलटारका गोलकिपर देव लिम्बूले सहजै नियन्त्रणमा लिएका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० औं चरणको पहिलो खेलमा एनआरटीले सुखद् नतिजा निकालेको हो। एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव बिष्ट र मोहित गुरुङले समान एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए। दोस्रो हाफमा भने एनआरटीले सुधारिएको प्रदर्शन देखायो। आक्रामक देखिएको एनआरटीका लागि पहिलो हाफमा निकै अवसर पाएका सरोजले गोलको खाता खोले। सुशन श्रेष्ठको क्रसमा पासमा सरोजले हेडरमार्फत जाली चुमाउँदा एनआरटीले अग्रता लिएको थियो। अग्रता लिएसँगै मनोबल उच्च बनाएकर खेलेको एनआरटीका लागि ८२ औं मिनेटमा सञ्जीवले टोलीको अग्रता दोब्बर बनाए। सन्जिवले कृतिस रत्न छुन्जूको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। त्यसको तीन मिनेटपछि मोहितले कृतिसकै पासमा टोलीका लागि तेस्रो गोल थपे। पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्तोवना गोल फर्कायो। श्यामले गोल गर्दै अग्रता छोट्याएपनि उनको टोली खुमलटार खेलमा फर्किन असफल रह्यो र अंक एनआरटीलाई सुम्पिन बाध्य बन्यो। दशौं चरणको पहिलो खेलमा सुखद नतिजा निकालेको एनआरटीले दोस्रो जित सहिज तालिकामा १० खेलबाट १० अंक नै बनाएको छ। यस अघि एनआरटीले चार बराबरी र चार हारको नतिजा भोगेको छ। उता पराजय व्यहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ एनआरटी भन्दा एक स्थान मुनी ११ औं स्थानमा छ।