सुचना र सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ-सञ्चारमन्त्री शर्मा
विष्णुबहादुर खड्का/काठमाण्डौ, चैत्र २०,
रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताउनु भएको छ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐनलगायत आवश्यक कानुन विज्ञ र सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा तयार गर्ने काम भइरहेको बताउनु भयो ।

रेडियो नेपालको महत्वबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “सूचना र सञ्चारका हिसाबले हामी निकै कमजोर थियौँ, हाम्रो गाउँठाउँमा इन्टरनेटको पहुँच थिएन, ती ठाउँमा सूचना, मनोरञ्जनको, समाचारको भरपर्दो माध्यम भनेको रेडियो नेपाल मात्रै विकल्प थियो र अहिलेको परिस्थितिमा पनि सञ्चारको भरपर्दो साधन रेडियो नेपाल नै छ ।” रेडियो नेपालले बद्लिँदो समय अनुसार आफूलाई पनि परिमार्जन गर्दै लगेको उल्लेख गर्दै उहाँले अझै कतिपय अवस्थामा थप परिमार्जनको आवश्यकता औल्याउनुभयो ।

रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन सञ्चारका महत्वपूर्ण माध्यम भएको बताउँदै सरकार सार्वजनिक प्रसारण माध्यम (पिएसवी) विधेयकलाई अगाडि बढाउने तयारीमै रहेको बताउनुभयो । उहाँले सूचना, सञ्चार प्रविधिको दुरुपयोग होइन कि सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले रेडियो नेपालले अझै सन्देशमूलक कार्यक्रम उत्पादन गरेर जनताको बीचमा पु¥याउनुपर्ने र शतप्रतिशत जनताकोमा रेडियो नेपाल सुन्न सक्ने गरी व्यवस्थित योजना बनाउन निर्देशन दिनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशीतालगायत मुलुकमा प्राप्त उपलब्धि जोगाउन, त्यसलाई संस्थागत गर्न र जनतासम्म पु¥याउन रेडियो नेपालको अझ महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा सूचना, सञ्चार प्रविधिको विकास नभएका बेला जनताको साथी भएको रेडियो नेपाल आजको परिवर्तित सन्दर्भमा त्यसलाई नयाँ ढङ्गले श्रोतामैत्री बनाउने, जनताको भरपर्दो सूचनाको माध्यम कसरी बनाउने भन्ने विषयमा ध्यान दिन जरुरी छ ।” सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने तयारीमा रहेको अवस्थामा नयाँ योजना तयार गर्न रेडियो नेपाललाई निर्देशन दिनुभयो । सो कार्यक्रममा विभिन्न संस्कृतिक झाकि स्वास्थ्य योग शिविर समेतका संयोजक प्रेम प्रसाद उपाध्याय र शान्तिदूतयोगयात्रीविष्णु -विष्णुबहादुर खड्का _ ज्युले गर्नु भएको थियो ।
विसं २००७ चैत २० गते स्थापना भएको रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम एवं समयसापेक्ष गीतसङ्गीतलगायत विभिन्न कार्यक्रम प्रस्तुत गर्दै आएको कुरा रेडियोले प्रतिवेदन मार्फत जानकारी गराएको थियो।