बागमतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत
रासंसा/मकवानपुर, चैत्र १०,
मुलुकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका थिए। सो प्रस्तावको विपक्षमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले मतदान गरे। विपक्षमा १७ मत परेको थियो। त्यस्तै राप्रपाले ७ मत तटस्थमा मतदान गरेको थियो। नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम बमोजिम मुख्यमन्त्री जमकट्टेलले आफुमाथि प्रदेश सभाको बहुमत सदस्यहरूको विश्वास छ भनी सदनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्हरूले जमकट्टेललाई मत दिएका हुन्। यससँगै जमकट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ। कूल ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१, नेकपा एमालेको २७, नेकपा एकीकृत समाजवादीको ७, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ र नेपाल मजदुर किसान पार्टीको ३ जना सांसद् रहेका छन्।