उपराष्ट्रपति निवासको सुखसयल चम्पालाई फिक्का

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ७,

मुलुकमा नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पाको ध्यान भने आज घर (कलैया) फर्किन नपाइने हो कि भन्ने चिन्ता थियो । छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् । शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो । शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’ उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला खहतानी’ चम्पाले राजधानीसँग भनिन्, ‘काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’ उच्च तहको पदमा आफ्नो श्रीमान पुगेकोमा उनले खुसी व्यक्त गरिन् । आफूलाई पनि धेरै मान्छेले नमस्ते गर्दा आश्चर्य लागेको बताइन् । उनको भनाइ थियो, छिमेकीलाई गाईको रेखदेख गर्ने जिम्मा दिएर म काठमाडौं आएको तीन दिन भयो । काठमाडौंमा मेरो काम छैन । अब घरै जान्छु । श्रीमानसँगै काठमाडौंमै बसेर सरकारी निवासको सुविधा उवभोग गर्नेतर्फ उनको कुनै मोह छैन । उपराष्ट्रपति निवासको त्यो भव्य र सुखसयल उनलाई फिक्का लाग्यो । उनले भव्य सरकारी निवासभन्दा आफ्नै सानो घर प्यारो हुने बताइन् । विशिष्ट श्रेणीका व्यक्तित्व, उच्च तहका कर्मचारी, सेनालगायतकाबाट बधाई एवं सलामी लिइरहेकी चम्पा देवीको मन भने कलैयामै पुगेको थियो । यसअघि पनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा रामसहाय वनमन्त्री भएका थिए । तर, उनी कहिल्यै सिंहदरबार वा मन्त्री निवासमा प्रवेश गरिनन् ।

Like