मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
रासंसा/काठमाण्डौ, पौष ३०,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे। उक्त भेटमा मन्त्रालय भागबण्डामा करिब करिब सहमति भएको बालुवाटार स्रोतले जानकारी दिए। स्रोतका अनुसार प्रधानमन्त्रीले सत्तारुढ दलका नेताहरूसँग मन्त्रीको नामावलीसमेत मागेका छन्। गृहमन्त्री लामिछानेसँगको भेटमा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रीको सूची मागेको स्रोतको भनाइ छ। यद्यपि रास्वपाले आफूहरुले कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान छाडेका छैनन्। यिनै विषयमा केन्द्रित भएर दुईबीच छलफल भएको स्रोतले जनाएको छ। प्रधानमन्त्र प्रचण्डले आजै सम्पादकहरूसँग अन्तर्क्रियामा पनि सकेसम्म भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्ता गर्ने दाबी गरे। लगत्तै प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्। बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारुढ दलहरूमा पनि मन्त्रीका आकांक्षी धेरै भएकाले प्रधानमन्त्री प्रचण्डसँग दलका नेताहरूले समय माग गरेको बताइएको छ। ‘प्रधानमन्त्रीजीले सकेसम्म छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भनिरहनुभएको छ। तर सत्तारुढ दलको आन्तरिक विवादका कारण कसैले पनि सूची दिन सकेको छैन,’ माओवादीका एक नेताले भने। सबै दलबाट सूची आए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने उनको भनाइ छ। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत पाएको पाँचौं दिने बिते पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित भइरहेका छन्। अहिले सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र विना विभागीमन्त्री राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी र अब्दुल खान छन्। प्रचण्डले मन्त्रिपरिषद्बाहेक सभामुख र राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल गरिरहेका छन्। कांग्रेसबाट समेत विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा विश्वासको मत दिने हलहरूलाई समेटेर सभामुख र राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न खोजेका छन्। सम्पादकहरूसँग भेटमा पनि उनले ३ गते बस्ने सर्वदलीय बैठकमा कांग्रेसलाई पनि बोलाइने र सभामुख र राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा छलफल गर्ने बताए। प्रचण्डको यस प्रस्तावमा भने एमालेले आपत्ति जनाउँदै आएको छ।
