माओवादीको पहिलो प्राथमिकता बाबुरामसँगै माधव नेपाल पनि वाम एकतामा
रासंसा/काठमाण्डौ, पौष २७,
मुलुकमा नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ। वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो।
‘पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन। तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ,’ पोखरेलले अन्नपूर्णसँग भने। उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए। ‘वाम एकताका लागि एउटा प्रयोग सुरु गरिसकेका छौं। वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति छैन,’ उनले भने। उनले नेकपा एमालेसँग भने तत्काल पार्टी एकता सम्बन्धमा सम्बाद नहुने प्रस्ट पारे। सम्बादका लागि नेकपा विभाजन र विगतका राजनीतिक घटनाहरूबारे गम्भीर छलफल हुनुपर्ने उनले बताए। ‘सबैसँग गर्ने भनिए पनि एमाले तयार नभइकन सम्बाद र छलफल गर्दैनौं। नेकपा विभाजको समीक्षा र विगतका राजनीतिक घटनाका विषयमा छलफल नगरी एमालेसँग एकता प्रारम्भ हुँदैन,’ उनले भने। पछिल्लो समय समाजको वर्ग विश्लेषण नभएको भन्दै उनले विश्लेषण हुन जरुरी रहेको बताए। ‘२०७२ को संविधान आइसकेपछि त्यसको उपलब्धिलाई रक्षा गर्दै पुरानो माइन्डसेट भत्काउनुपर्छ। कोसँग मिल्ने, कोसँग नमिल्ने भन्ने प्रश्नलाई चिर्नका लागि वर्ग विश्लेषण हुन आवश्यक छ,’ उनले भने। माओवादीले वाम एकता अभियानका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको छ।