मलंगवाका नगर प्रमुखकै घरमा डोजर चल्यो
रासंसा/रौतहट, पौष २७,
मुलुकमा सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकामा डोजर चलेको छ। लामो समयदेखि अलपत्र रहेको सडक विस्तारको काम सुरुवात हुँदा डोजर चलेको हो। राम्रो कामको सुरुआत आफैँबाट गर्नुपर्छ भन्दै नगर प्रमुख यादवले आफ्नो घरमा डोजर लगाएर सडक विस्तारको काम सुरुआत गर्दा अन्यत्र काम गर्न त्यत्ति अप्ठ्यारो नहुने बताएका छन्। नगरवासीको चाहना आवश्यकतानुसार सडक विस्तार रहेको र सोहीअनुसार आफूले आफ्नै घर भत्काउन लगाएर सडक विस्तारको काम सुरुआत गरेको नगर प्रमुख यादवको भनाइ छ। मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्। सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार तथा निर्माणको काम ठप्प रहेको थियो। मलंगवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान गरिसकिएको भए पनि त्यहाँदेखि अगाडि विवादका कारण रोकिएको थियो। मलंगवाको कृष्णामति माध्यमिक विद्यालयदेखि नेपाल बैङ्क, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको नगर प्रमुख यादवले बताएका छन्। नगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घर भत्किँदा बाटोमा हिँड्नेलाई चोटपटक लाग्न सक्ने तथा अन्य दुर्घटना हुने सम्भावना रहेकाले बटुवा र स्थानीयलाई सतर्क गराउन प्रहरी परिचालन गरिएको हो। मलंगवाको कृष्णामति माध्यमिक विद्यालयदेखि नेपाल बैङ्क, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको नगर प्रमुख यादवले बताएका छन्। सडक विस्तार भएपछि ठेक्का प्रक्रियाद्वारा सडकको पुनर्निर्माण गरिने नगर प्रमुख यादवले जानकारी गराएका छन्। नगर प्रमुखले नै पहिले आफ्नो घर भत्काउन सुरु गरेपछि अन्य क्षेत्रमा खासै समस्या नहुने र समस्या भएमा तत्काल समाधान गरिने नगर प्रमुख यादवको भनाइ छ। नगर प्रमुख यादवले स्थानीयवासीले सडक विस्तारमा सहयोग गरेको बताएका छन्।