दुई गोलरक्षकको टक्कर, आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै
एजेन्सी,
विश्वमा कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया आमनेसामने हुँदैछन्। चार वर्षअघिको फाइनलिस्ट क्रोएसिया फेरि एक पटक फाइनल यात्रा तय गर्न चाहन्छ। ज्लाट्को डालिचको टिम चार वर्षअघि रुसको लुजनिकी रंगशालामा फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। अहिले क्रोएसिया र फाइनलबीच लियोनेल मेसीको अर्जेन्टिना उभिएको छ। जारी विश्वकपको दावेदार मानिएको दक्षिण अमेरिकी टोलीलाई पराजित गर्न सके मात्रै लुका मोड्रिचको टिमले फाइनलमा स्थान बनाउने छ। अर्जेन्टिनालाई हराउन सके दक्षिण अमेरिकी दुई महारथिलाई लगातार विश्वकपबाट बाहिर निकाल्ने १२ वर्षमा पहिलो युरोपियन टिम क्रोएसिया बन्नेछ। यसअघि सन् २०१४ मा जर्मनीले सेमिफाइनलमा ब्राजिल र फाइनलमा अर्जेन्टिनालाई पाखा लगाएको थियो। प्रिक्वार्टरफाइनलमा ब्राजिलका प्रमुख अट्याकर राफिन्हा र एन्टोनीलाई चुप राखेका क्रोएसियन लेफ्ट ब्याक बोर्ना सोसा आफ्नो टिम अगाडि जानेमा विश्वस्त छन्। फ्रान्स यसपाली पनि अन्तिम चारमा पुगिसकेको छ। बुधबार राति मोरक्कोसँग फाइनल प्रवेशका लागि खेल्ने तयारी गरिरहेको छ। विश्वकप सुरु हुनुअघि क्रोएसियालाई दाबेदारको रूपमा हेरिएको थिएन। समूह चरणमा पनि प्रभावशाली प्रदर्शन गर्न नसकेको क्रोएसिया प्रतियोगिता अगाडि बढ्दै जाँदा सुधारोन्मुख बन्दै आइरहेको छ। अन्तिम क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विजेता ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसियाले तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएसँगै बलियो दाबेदारी प्रस्तुत गरेको छ। अर्जेन्टिनाको छिमेकी मुलुक ब्राजिलले जारी विश्वकपमा ‘सेलेब्रेसन’का कारण पनि चर्चा कमायो। अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी पनि आफ्नो टिमले पनि ‘सेलेब्रेसन’ गरिरहोस् भन्ने चाहन्छन्। ‘हामी अहिले ‘सेलेब्रेसन’ गरिरहेका छौं। अझै ‘सेलेब्रेसन’ गर्न चाहन्छौं’, उनी भन्छन्, ‘हामी यसलाई अझै निरन्तरता दिन चाहन्छौं। क्रोएसियालाई दिनुपर्ने जति सम्मान हामी दिन्छौं। आशा गरौं हामी अवश्य अगाडि बढ्ने छौं।’ पछिल्लो खेलमा ब्राजिलका रोड्रिगोको प्रहार असफल पारेसँगै क्रोएसियन गोलरक्षक डोमिनिक लिभाकोभिच एउटै विश्वकपमा चार पेनाल्टी रोक्ने तेस्रो गोलरक्षक बनेका थिए। चार वर्षअघि क्रोएसियाकै डानिजेल सुबासिच र सन् १९९० मा अर्जेन्टिनाका सर्जियो गोएकोचेयाले एकै संस्करणमा चार पेनाल्टी रोकेका थिए। अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टेभन बर्गुइसको पेनाल्टी रोकेका थिए। गत वर्ष कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियाविरुद्धको पेनाल्टी सुटआउटमा पनि मार्टिनेज अर्जेन्टिनाका हिरो भएका थिए। जहाँ उनले टाइब्रेकरमा तीन पेनाल्टी रोकेका थिए। मंगलबार राति सुरुआती ११ को घोषणा हुँदा अर्जेन्टिनाको टिममा गोन्जालो मोन्टियल र मार्कोस एक्युना हुने छैनन्। त्यसबाहेक नेदरल्यान्ड्सविरुद्धको खेलमा सब्स्टिच्युट गरिएका रोड्रिगो डी पउल खेल्नेमा पनि शंका छ। दुवै टिम प्रिक्वार्टरफाइनलमा पेनाल्टी सुटआउटसम्म पुगेर यहाँ आइपुगेका हुन्। टाइब्रेकरमा पुग्यो भने जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका दुई गोलरक्षकको टक्कर हुनेछ। विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक मेसी आफ्नो ट्रफी क्याबिनेटमा सबैभन्दा लोकप्रिय उपाधि पनि सजाउन चाहन्छन्। ब्रोजोविक जारी विश्वकपमा क्रोएसियाको मिडफिल्डका प्रमुख खेलाडी हुन्। मंगलबार राति अर्जेन्टिनी कप्तान मेसीलाई रोक्ने जिम्मेवारी उनैलाई हुनेछ। ब्राजिलविरुद्ध क्वार्टरफाइनलमा जित हासिल गर्दा ब्रोजोविकले ९६ पास खेलेका थिए। मेसीले तीन फरक विश्वकपका खेलमा गोल र असिस्ट दुवै गरेका छन्। जसमध्ये दुई खेल जारी विश्वकपको समूह चरणमा मेक्सिको र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गरेका थिए। सन् १९६६ पछि कुनै खेलाडीले पनि विश्वकपका चार खेलमा गोल र असिस्ट दुवै गरेका छैनन्। क्रोएसियाविरुद्ध मेसी त्यो डेडलक तोड्ने प्रयासमा हुनेछन्। उनको टिमबाट त्योभन्दा धेरै पास खेल्ने लुका मोड्रिच मात्र थिए, जसले एक सय पाँच सफल पास खेलेका थिए। यदि मोड्रिच र माटेओ कोभासिचसँगको सहकार्यमा ब्रोजोविकले अर्जेन्टिनालाई मध्य भागबाट खेल्न नदिएर फ्लान्कतर्फ धकेल्न सक्यो भने मेसीको प्रभाव खेलमा कम हुनेछ।
