इन्डोनेसिया भूकम्पमा मर्ने २६८ पुगे
एजेन्सी,
विश्वमा इन्डोनेसियाको जाभा द्वीपमा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २६८ पुगेको छ। भूकम्पबाट भौतिक संरचना भत्कँदा १ हजार ८३ जना घाइते भएका छन्। भूकम्कका कारण त्रसित सर्वसाधारण सडकतर्फ भागेका थिए। सियान्जुरका एक महिलाले भूकम्पका कारण आफ्नो घर नाचेको जस्तो देखिएको प्रतिक्रिया दिएकी छिन्। ‘म रोइरहेकी थिएँ र म तत्काल पति र बच्चालाई तानेर बाहिर भागेकी थिएँ,’ पर्टिनाम नाम गरेकी ती महिलाले भनीन। ‘मैले उनीहरूलाई नतानेको भए हामी सबै भूकम्पको सिकार हुन सक्थ्यौं,’ उनले थपिन्। भूकम्पपछि १५१ जना बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रमुख सुहारयान्टाका अनुसार सियान्जुर सहरनजिकै केन्द्रबिन्दु भएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो।
सरकारी अधिकारीका अनुसार ३ सयजना गम्भीर घाइते छन्। स्थलगत भ्रमणपछि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सरकारले आवश्यक राहत कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले भत्केका संरचनाहरू तत्काल पुनर्निर्माण गरिने पनि बताए।