राजनीतिक दलको आर्थिक मुद्दामा कमजोर भूमिका
रासंसा/कास्की, कार्तिक २३,
मुलुकमा पोखरा–मुग्लिन ९० किलोमिटर दूरी हो। यो दूरी पार गर्न अघिल्लो वर्षसम्म बढीमा तीनघण्टा लाग्दथ्यो। अहिले यो मध्ये पोखरा–आँबुखैरेनी (८२ किलोमिटर) खण्ड बिस्तार हुँदैछ। अहिलेसम्म पूर्वीखण्ड (जामुने–आँबुखैरेनी) मा मात्र काम भईरहेको छ। पश्चिम खण्ड (जामुने–पोखरा) मा अझै काम सुरु भएको छैन। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भनिसकेको छ। तोकिएको समयमा विमानस्थल संचालनमा ल्याउने हो भने अबको डेढ महिनामा सबै तयारी सक्नुपर्छ। तर, यो विमानस्थल संचालनका अवरोध अझै हटेका छैनन्। ती अवरोध नहटे विमानस्थल संचालनमा आउँदैन। तर, बेलैमा विमानस्थल संचालनमा ल्याउन कुनैपनि दलले यो पटक चुनावी नारा बनाएका छैनन्। पोखराकै दवावमा बनेको यो विमानस्थल बेलैमा संचालनमा ल्याउन अहिलेसम्म दवाव नपुगेको क्यान पदाधिकारी नै बताउँदै आएका छन्। एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार हुँदैछ। राजमार्ग बिस्तार सुरु भएसँगै यो खण्डको सडक यात्रा निकै नै झन्झटिलो बनेको छ। तीनवर्षमा काम सक्ने भनिएपनि एक वर्ष अघि सुरु भएको राजमार्ग बिस्तारले अहिलेसम्म ठोस गति लिएको छैन। यतिसम्मकी पश्चिमखण्डमा अहिलेसम्म कामै सुरु नभएपछि बेलैमा काम सकिनेमा गण्डकीबासीको विश्वास छैन। बेलैमा सकिने संकेत नदेखाएको यो राजमार्गको तीनवर्षभित्र बिस्तार सक्न कुनैपनि दलले दवाव दिएका छैनन्। यतिसम्मकी चुनावी नारा समेत राजमार्गलाई बनाएका छैनन्। गण्डकी प्रदेश पर्यटनमा अब्बल छ। ठूलो लगानी पर्यटनमा छ। कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्र करिब दुइवर्ष ठप्प भयो। अहिले पर्यटन क्षेत्र खुला त छ तर, पर्यटनले विदेशी पाहुना नआउँदा व्यसायबाट लाभ पाउन नसकेको गुनासो गरिरहेका छन्। राज्यले पर्यटन क्षेत्रको राहतका लागि खासै कदम नचालेको व्यवसायीको गुनासो छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मुखमा दलका नेताहरुले विभिन्न चुनावी नारा बनाउँदै जाँदा व्यवसायीको आन्दोलन, महत्वपूर्ण भौतिक पूर्वाधार बेलैमा सक्ने र संचालन गर्नेजस्ता मुद्दा उठान गर्न नसकेको व्यवसायीले बताएका छन्। चुनावी माहोल तात्दै जाँदा सिंगो व्यवसायिक क्षेत्र आन्दोलनमा छ। हत्तपत्ति व्यवसायिक क्षेत्र आन्दोलनमा उत्रन चाहँदैन। कुनैपनि खाले आन्दोलन गर्न नहुने भनेर व्यवसायीले बेलाबेला भन्ने पनि गरेका छन्। तर, अहिले चुनावी माहोल नजिकिँदै जाँदा देशैभरका व्यवसायी आन्दोलनमा छन्। व्यवसायी आन्दोलनमा उत्रनुको मुल कारण हो–बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ताको ब्याजदर अधिक वृद्धि गर्नु। एकल अंकमा लिएको ऋणको ब्याजदर अहिले बढेर दुइअंकमा उक्लेको छ। व्यवसायी भन्छन्, ‘ऋण लिँदा सातप्रतिशत ब्याजदरमा लिएका हौ। अहिले ब्याजदर १५ प्रतिशतसम्म उक्लेको छ। यो दर अझै बढ्ने आँकलन छ।’ देशैभरका व्यवसायी आन्दोलनमा उत्रदा चुनावी दौडमा रहेका दलका नेताहरु व्यवसायीको यी आन्दोलनप्रति मौन रहे। कसैले पनि व्यवसायिका समस्या आगामि दिनमा दोहोरिन नदिन पहल थाल्ने सम्मको आश्वासन समेत नदिएको व्यवसायीले गुनासो गरिरहेका छन्। पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनाराण श्रेष्ठ भन्छन्, ‘राजनीतिक दलको विकासप्रतिको उत्तरदायित्व नदेखिएको भन्ने चुनावी नाराले पनि पुष्टि हुन्छ।’ उनका अनुसार गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन हो। तर, पर्यटनका लागि काम गर्न कोही तयार छैनन्। अहिले राजमार्गको झन्झटिलो यात्रा, तयार भईसकेको विमानस्थल बेलैमा संचालन गर्ने कुरा, आन्दोलनरत व्यवसायीका मुद्दा चुनावी नारा बन्न सकेनन्। ‘खानेपानी, विजुली, गाउँको बाटो, विद्यालय भनेर मात्र हुँदैन, प्रदेशकै समृद्धिका आधारलाई चुनावी नारामा समेट्न नसक्नु कमजोरी हो,’ उनले भने। आर्थिक गतिविधि उकास्ने खालका गतिविधिलाई दलहरुले समेट्न नसकेको व्यवसायीको गुनासो छ। व्यवसायीका अनुसार विकासे पूर्वाधारका धेरै योजनाबारे दलका नेताले चुनावी नारा समेत बनाउन सकेका छैनन्। व्यवसायी भन्छन्, गण्डकी प्रदेशलाई समृद्ध बनाउने राजमार्ग, विमानस्थल जस्ता ठुला आयोजनाको काम बेलैमा सक्न दवाव दिनेगरि कुनै पनि उम्मेदवारले चुनावी नारा समेत बनाएका छैनन्। आर्थिक समृद्धिको कुरा गर्दा नथाक्ने दलका नेताहरु आर्थिक गतिविधि बढाउन आवश्यक पुर्वाधार बेलैमा सक्न दवाव दिन पनि चुकेका छन्। कम्तिमा निर्माणाधिन पूर्वाधार बेलैमा सक्न दवाव दिन्छौ समेत भनेर भन्न सकेनन्।’ अहिले पृथ्वी राजमार्गको यात्रा निकै नै झन्झटिलो बनेको छ। राजमार्ग बिस्तार सुरु हुनुअघि पोखरा–काठमाडौं (२०० किलोमिटर) दूरी ६ घण्टामा पार गर्न सकिन्थ्यो। तर, अहिले यो खण्ड पार गर्न १२–१३ घण्टासम्म लाग्ने गरेको छ। स्थलमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटकको हिडडुल प्रभावित भएको छ। बेलैमा राजमार्ग पुरा गर्न दवाव दिनेगरि कुनैपनि दलले चुनावी नारा समेत उनले बताए। त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचारु गर्नका लागि अहिलेसम्म दवाव कतैबाट पुगेको छैन। चुनावी नारामा समेत विमानस्थल संचालन गर्न दवाव दिने भनेर कसैले नसमेटेको उनले बताए। ‘अर्थतन्त्र सुधारपट्टि दलहरु पटक्कै लाग्न सकेनन। सिंगो व्यवसायिक क्षेत्र आन्दोलनमा उत्रदा पनि व्यवसायीलाई मनाउने सामथ्र्य दलहरुले राखेनन,’ उनले भने, ‘आर्थिक गतिविधि उकास्नका लागि दलहरुले मुद्दा बनाउन नसक्दा व्यवसायीले आश गर्ने ठाउँ पाएनन्।’ उनले गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्यउर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्ने पनि बताए। नेताहरु भने आर्थिक समृद्धिमा आफुहरुको जोडबल सधैं रहेको बताउँछन्। कास्की २(२) का कांग्रेस उम्मेदवार बिन्दुकुमार थापा प्रदेशलाई समृद्ध बनाउन उर्जा, कृषि, उद्यमशिलता, पर्यटन र पूर्वाधारमा जोड दिएको बताउँछन्। ‘कोरला–त्रिवेणी गण्डकी प्रदेशको लाइफलाइन हो। नवलपुरबाट भारतको सीमा जोडिने यो सडकलाई उच्च प्राथमिकतामा राखेका छौ,’ थापाले भने, ‘कोरला–त्रिवेणी सडकलाई प्राथमिकतामा राख्दै चीन र भारत दुबै मुलुकसँग व्यापार बिस्तार गर्न सकिन्छ। यसलाई गण्डकी मुकाम पोखरासँग जोड्न सके प्रदेशको समृद्धिमा सघाउ पुग्छ।’ थापाले प्रदेशको एकीकृत पर्यटन विकासका लागि ग्रेटर पोखराको अवधारणालाई अघि सारेका छन्। उनले त्रिवेणीदेखि मुक्तिनाथ, कालिगण्डकीदेखि बुढीगण्डकी र यस बीचमा पर्ने सबै धार्मिक तथा ऐतिहासिक गन्तब्यको प्रबद्र्धन गर्ने योजना पनि सुनाए। उनले गण्डकीमा बाह्य लगानी भित्रयाउन र निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न आवश्यक पर्ने कानुन निर्माण र लगानीको सुरक्षामा विशेष जोड दिने बताए। ‘आर्थिक समृद्धिमा हाम्रो जोड छ। कुनैपनि पूर्वाधार निर्माणमा ढिलाई हुन नदिन हामीले होसियारीपूर्वक हेरिरहेका छौ,’ उनले भने। दलहरु निर्वाचनमा जाँदा जनताले चिनेको विषय मात्र उठान गर्ने उनको भनाई छ। ‘जनताले चिनेको विषयभित्र बाटोघाटो, पुलपुलेसा, विद्युत, स्वास्थ्यचौकी जस्ता पूर्वाधार पर्छन, ठूला आयोजना पर्दैनन,’ उनले भने, ‘सबैजसो दलका उस्तै नारा छन्। नयाँ नारा बनाउनमा ध्यान दिन सकेनन्।’ पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल हरेक विषयलाई राजनीतिकरण गर्ने क्रममा आर्थिक, वातावरण लगायतका मुद्दा चुनावी नारामा लुक्ने गरेको बताउँछन्। ‘विज्ञविहीन अवस्थामा दलहरुले प्रतिवद्धतापत्र बनाउँछन्। कम्तिमा विज्ञसँग सुझाव लिएर काम गर्ने हो भने चुनावी नारा आकर्षक हुन्छन,’ उनले भने, ‘कहाँ के महत्व छ भनेर दलले नबुझ्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्।’