प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? ओलीको प्रश्न देउवालाई
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’ नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?