नारायणीको बाढीले सर्तकताको तह पार गर्‍यो, गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

Share to:

रासंसा/तनहुँ, आश्विन २०,

मुलुकमा लगातारको वर्षाका कारण नारायणीको सतह बढेको छ। नारायणीमा बाढी आएपछि बाढीले सतर्कताको तह पार गरेको छ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान सात बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो। सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको संकेत मानिन्छ। नारायणीमा पानीको बहाब यस वर्षकै उच्च रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी गराएको छ। नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी किनारका बस्ती जोखिममा छन्। नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ। नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ। देवघाट मापन केन्द्रले गरेको मापनअनुसार पानीको बहाब सात दशमलव चार मिटर पुगेको छ। अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीको ख्याल गर्दै गण्डक ब्यारेजका ३६ ढोकामध्ये २२ ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले बताए।

अविरल वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्‍याउने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो। उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ। गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुअघि नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो। बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने अनुमान गर्दैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमीको ख्याल गरी आफूहरूले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकता अनुसार ढोका खोलिने उनको भनाइ थियो। पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन समेत उनले आग्रह गरे।

Like