चुनाव जति आए पनि उम्मेदवार अनुहार एकै

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ३०,

मुलुकमा २०४८ सालदेखिका सबै चुनाव जित्नेमध्ये भाग्यमानी नेता हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा। ०४८ मा डडेलधुराबाट निर्वाचित देउवा त्यसपछिका कुनै पनि निर्वाचनमा निराश हुनुपरेन। ०४८ मै गृहमन्त्री बनेका उनी पाँचपटक प्रधानमन्त्री बनिसके। ७६ वर्षीय देउवा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि डडेलधुराबाट उम्मेदवार बन्दै छन्। माओवादीबाट ०४८ सालदेखि निरन्तर संसद्मा प्रतिनिधित्व गर्ने नेतामा पर्छन्, कृष्णबहादुर महरा। त्यस बेला तत्कालीन जनमोर्चाबाट रोल्पा २ बाट जितेर महरा पहिलो पटक संसद्मा पुगेका थिए। तर, पछि माओवादी भूमिगत भएपछि महरा पनि त्यतै लागे। शान्ति सम्झौतापछि ०६३ सालको अन्तरिम संसद्मा चुनावै नलडी उनी सांसद बने। त्यति बेला राजनीतिक सहमतिका आधारमा माओवादीलाई संसद्मा छिराइएको थियो। ३० वर्षदेखि लगातार सांसद बन्ने अर्का भाग्यमानी नेता हुन्, कांग्रेसकै विजयकुमार गच्छदार। गच्छदारले ०४८, ०५१ र ०५६ को संसदीय चुनाव जिते। ०६४ र ०७० का दुवै संविधानसभामा जितेरै प्रतिनिधित्व गरे। ०७४ को चुनाव पनि जिते। र, यसपटक पनि उनी सुनसरीमा उम्मेदवार बन्दै छन्। संसदीय राजनीतिको उच्च ‘सदुपयोग’ गर्ने नेतामा पर्छन् गच्छदार। एमाले अध्यक्ष केपी शर्मा ओली ०४८ देखि नै संसद्मा छन्। तर, ०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी पराजित भएका थिए। ०४८, ०५१ र ०५६ मा झापा ६ बाट निर्वाचित ओलीले ०७० को दोस्रो संविधानसभा चुनाव झापा ७ र ०७४ मा झापा ५ बाट जिते। ओली अब झापा ५ बाट उम्मेदवार बन्दै छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने ०६४ को पहिलो संविधानसभा चुनाव जितेपछि मात्रै संसद्मा पुगेका हुन्। दाहालसँगै तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई लगातार संसद्मा प्रतिनिधित्व गरिरहेका छन्। महराले ०६४ को संविधानसभादेखि ०७४ को संसदीय निर्वाचन जितेका हुन्। सभामुख भएकै बेला उनी यौन दुव्र्यवहार आरोपमा मुछिए। अदालतबाट सफाइ पाएका उनी दाङबाट लड्ने तयारीमा छन्। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ०४८ देखि ०५६ सम्म राष्ट्रियसभाका सांसद बने। २०५६ मा प्रतिनिधिसभाको चुनाव जिते। पहिलो संविधानसभा चुनावमा भने पराजित भए। पछि मनोनीतबाट संविधानसभा सदस्य बने। ०७० को दोस्रो संविधानसभा र ०७४ को संसदीय निर्वाचन जिते। अब रौतहटबाट चुनाव लड्ने तयारीमा छन्। ०४६ को राजनीतिक परिवर्तनपछि पार्टीको नेतृत्वमा जो छन्, उनै नेता चुनाव लड्ने गरेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पछिल्ला दिनमा जनताले मन पराए पनि नपराए पनि नेता बनिरहने संस्कार विकास भएको बताउँछन्। ‘गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीहरू पार्टीका मात्रै थिएनन्। जनताका पनि नेता थिए’, आचार्य भन्छन्, ‘पछिल्ला दुई दशकमा जनताले मन पराए पनि नपाए पनि पार्टीले नेता भन्दिन्छन्। जनता पनि नेता भन्दिन बाध्य भए।’ जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी ०४८ सालमै संसद्मा पुगेका थिए। ०५१ र ०५६ मा पनि जितेका त्रिपाठीले ०७० मा जित्न सकेनन्। ०७४ मा एमालेको सूर्य चिह्नबाट जिते। उनी आगामी निर्वाचनमा पनि एमालेकै सहयोग खोजिरहेका छन्। नवलपरासी १ मा उम्मेदवार बन्ने तयारीमा उनी छन्। एकीकृत समाजवादीकै नेता झलनाथ खनाल पनि ०४८ सालदेखि संसद्मा छन्। ०५६ सालको संसद्मा भने उनको उपस्थिति भएन। इलाम १ बाट प्रतिनिधित्व गरिरहेका उनी त्यस बेला पराजित भएका थिए। यसपटक उनी पनि इलाम १ बाटै उठ्दै छन्। नागरिक समाजका अगुवा एवं पूर्वसभामुख दमननाथ ढुंगाना भने जति पटक जिते पनि नेताहरूमा जागिरे प्रवृत्ति देखिएको बताउँछन्। ‘चुनाव जित्नेहरूले जनताको सेवक नभई कमाउने जागिरजस्तो भएर काम गरे’, पूर्वसभामुख ढुंगाना भन्छन्, ‘जनताको मतअनुसार काम गरेनन्।’ लोसपा अध्यक्ष महन्थ ठाकुर ०४८ सालमा कांग्रेसबाट जितेर संसद्मा पुगे। ०५१ मा सर्लाहीबाट जितेका उनी ०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य बने। उनले दुवै संविधानसभा चुनावमा हार बेहोरेका थिए। ०७४ मा महोत्तरी ३ बाट जिते। संविधानविद् भीमार्जुन आचार्य कुनै राम्रो काम नगर्दा पनि एकै व्यक्तिलाई पटक–पटक चुनाव जिताउनु मतदातामाथिकै गम्भीर प्रश्न भएको बताउँछन्। ‘देश, समाज र राष्ट्रका लागि काम गरेको भए पुरस्कार स्वरूप फेरि ल्यायौं भन्न हुन्थ्यो’, आचार्य भन्छन्, ‘तर, एउटै व्यक्ति पटक–पटक सांसद, मन्त्री र प्रधानमन्त्री बनेका छन्। तर, कार्यसम्पादन निराशाजनक छ।’ एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङ जनताको बीचबाट जसले विश्वास जित्न सक्छ उसलाई नै पार्टीले टिकट दिने गरेको बताउँछन्। ‘पार्टीले जित्ने उम्मेदवार छान्ने गर्छ’, पूर्वसभामुख नेम्बाङ भन्छन्, ‘कोही वाककला भएका हुन्छन्। तर, जनताको मन जित्दैनन्। कोही निर्वाचन जितेपछि जनताको मन जित्ने काम मात्र गरेर आफ्नो प्रभाव सदैव जमाइरहेका हुन्छन्।’

Like