सङ्क्रमणको चौथो लहरको सङ्केत !

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १९,

मुलुकमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताए । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउछन् । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनाँै । अहिले पनि हामी भन्दैनौँ”, उनले भने “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।” उनले सङ्क्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उनले भने “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उनले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताउछन् । उनले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउछन् । उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उनले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउछन् । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उनले भने “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।” नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् ।

Like