बुवा–छोरा नै डिएसपी मा बढुवाको सिफारिस

Share to:

रासना/काठमाण्डौ, श्रावण ९,

मुलुकमा श्रावण २ मा साँझ प्रहरी प्रधान कार्यालयको कर्पोरेट युजर ग्रुप (सियुजी) नम्बरमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस भएको सूचना आयो । जनपद प्रहरी समूहतर्फ ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भए । प्राविधिक समूह तर्फ इन्जिनियरिङ उप–समूहको आवास तथा भौतिक इन्जिनियरिङमा ३ जना डीएसपी पदमा बढुवा सिफारिस भए । जनपद तर्फको ३१ औँ नम्बरमा सिफारिस भए, राजेन्द्र अधिकारी । आवास तथा भौतिक इन्जिनियरिङमा १ नम्बरमा बढुवा सिफारिस भए ध्रुव अधिकारी । ध्रुव अधिकारी राजेन्द्रका छोरा हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका उनीहरूलाई बुवा–छोरा एकैपटक डीएसपी हुने संयोग जुरेको छ । पर्वतमा कार्यरत राजेन्द्र त्यहाँबाट बिदा भएर डीएसपीको फुली लगाउनका लागी काठमाडौँ आएका छन् । ‘प्रमोसन आफैँमा खुसीको कुरा हो’ राजेन्द्रले हामीलाई बताउदै ‘बुवा–छोरा सँगै हुँदा झन् खुसी लाग्यो ।’ प्रहरी महानिरीक्षक नेतृत्वको बढुवा समितिले साउन १ मा इन्जिनियरिङ तर्फ र साउन २ मा जनपद तर्फ बढुवाको निर्णय गरेको थियो । तर, सूचना चाहिँ साउन २ मा एकैपटक सार्वजनिक भयो । नक्साल स्थित प्रहरी प्रधान कार्यालयको भौतिक पूर्वाधार निर्देशनालयमा कार्यरत ध्रुवले बढुवा निस्केको सूचना हेर्नासाथ बुवालाई सम्झिए । तत्काल फोन गरेर भने–‘बुवा मेरो पनि प्रमोशन भयो ।’ ‘बुबाले ठिक छ, बधाई छ भन्नुभो’ ध्रुवले हामीसंग भन्दै ‘बाबाको पहिला अनि, एक छिनपछि मेरो प्रमोसन निस्किएको सूचना आएको थियो ।’ राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए । ध्रुव २०७५ असार ३१ मा भर्ना भए । ध्रुव राजेन्द्रभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका हुन् । तर, बुवासँगै उनी डीएसपी भएका छन् । असईमा भर्ना भएका राजेन्द्र २०५७ सालमा प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भए । नायब निरीक्षकबाट छोरा पहिलो पटक भर्ना भएको पद (इन्स्पेक्टर)मा पुग्न उनलाई १० वर्ष लागेको थियो । उनी २०६७ सालमा इन्स्पेक्टर भएका हुन् । राजेन्द्र इन्स्पेक्टर भएको ८ वर्षपछि सेवा प्रवेश गरेका ध्रुव भने ४ वर्षमा नै डीएसपी भएका छन् । प्राविधिक तर्फ चाँडो बढुवा हुन्छ । राजेन्द्रका दुई छोरा छन् । दुवैलाई उनले इन्जिनियरिङ पढाए । हामिसँग कुरा गर्दै राजेन्द्रले भने–‘जेठो सुशील कलेज पढाउँछ इन्जिनियरिङ ।’ राजेन्द्र इन्जिनियरिङ फिल्डमा छोराले राम्रो गरेको हेर्न चाहन्थे । उनकै इच्छा थियो–‘इन्जिनियरिङमा स्थायित्व होस् ।’ प्रहरीमा प्राविधिक तर्फ इन्जिनियर मागेको म्यासेज राजेन्द्रको सियुजी नम्बरमा आयो । त्यसदिन बुवा–छोरा सँगै थिए । ‘इन्स्पेक्टरमा मागेको कुरा बावाकोमा म्यासेज आयो’ ध्रुव भन्छन्–‘त्यो दिन सँगै थियौँ, त्यसपछि मैले फारम भरेँ ।’ ध्रुवले ४ कक्षासम्म माछापुच्छ्रे स्थित ज्ञानज्योती स्कुलमा पढेका हुन् । ५ कक्षाबाट पोखरा स्थित मदरल्याण्डमा अध्ययन गरे । ब्याचलर इन इन्जिनियरिङ चाहिँ उनले पश्चिमाञ्चल इन्जिनियरिङ कलेजबाट गरेका हुन् । ‘पढ्दै जाँदा सरकारी सेवामा आबद्ध हुने इच्छा थियो’ ध्रुवले हामीसँग भने–‘प्रहरी सेवामा रहेर बाबाले हामीलाई लगानी गर्नुभयो, त्यही फिल्डमा सेवा गर्न पाएँ रमाइलो लागेको छ ।’ एकैपकट डीएसपी हुनुचाहिँ ‘संयोग’ मान्छन् ध्रुव । संयोगले सँगै बढुवा भएका बाबुछोराले यसैसाता फुली लगाउने छन् । प्रहरी नियमावलीमा कुनै परिवर्तन भएमा राजेन्द्र डीएसपीमै अवकाशमा जानेछन् । तर, ध्रुव चाहिँ अझै माथिल्लो दर्जासम्म पुग्छन् । भौतिक पूर्वाधार निर्देशनालयमा डिआईजी प्रमुख हुने व्यवस्था छ । ध्रुव डिआईजीका आकाङ्क्षी हुन् । जे होस् भगवान्ले तँ चिता मा पुराउछु तर मिहनेत चाहि गर्ने पर्छ ।

Like