विपद् सामाग्री गृहमन्त्री खाँणद्वारा हस्तान्तरण
रासंसा/काठमाण्डौ, श्रवण ७,
मुलुकमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा प्रयोग हुने विभिन्न उपकरण तथा सवारी साधन हस्तान्तरण गर्नुभएको छ । गृह सचिव टेक नारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरणहरु महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । शनिबार गृहमन्त्री खाँणले सबै सामाग्री सम्बन्धित ठाउँमा पु¥याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा यी सामाग्रीहरुको सदुपयोग गर्न निर्देशन दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एम्बुलेन्स तथा उपकरणहरुको व्यवस्थाले नेपालमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्नुहुँदै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स, एम्बुलेन्समा भन्टिलेटर अल्ट्रासाउण्ड उपकरण तथा ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका उपकरणहरु समेत जडान गरिएको छ । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिन्छ । नेपालमै पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्सहरुमा सीसीटिभी क्यामेरा जाडान गरिएकाले टाढा रहेका विशेषज्ञ चिकित्सकहरुले समेत उपचारमा गाईड गर्न सक्छन् । मोबाईल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटै प्रदेशमा एक–एक वटाका दरले बितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहने एउटा एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपालद्वारा संचालित नेपाल एपीएफ अस्पतालसँगको समन्वयमा संचालन हुनेछ । यसैगरी भूकम्प, बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनापछि खोज तथा उद्धार कार्यका लागि आवश्यक पर्ने ६२ प्रकारका खोज तथा उद्धार उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट विभिन्न समयमा प्राप्त उपकरणहरुले सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि भएको बताउनुभयो ।