सदस्य–सचिव टंक लाल घिसिङको भनाइ नवौँ राष्ट्रिय खेलकुद अब सर्दैन

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १४,

मुलुकमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन पटक सर्‍यो । कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव विवाद त कहिले कोरोनाको विषयले नवौँ खेलकुद समयमा हुन सकेन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको बताए । यही जेठ २२ गते हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल सामाग्री खरिद र प्रदेशको तयारी नपुगेको बताउँदा पुनः सर्न पुग्यो । राखेपको प्रस्तावमा गत मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गर्‍यो । अब हुने खेलकुद प्रतियोगिताको मिति नसर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए । उनले अब तोकिएकै समयमा हुने बताए । सबै प्रक्रिया पुगे पनि केही कानुनी पाटो र प्रदेशहरूको तयारीको विषयलाई लिएर मिति सार्नु परेको बताए । उनले पहिलो पटक मिति तय गर्दा आफूहरूले प्रदेशको तयारी पुग्ने सोच बनाए हुँदा अहिले मिति सर्ने अवस्था आएको बताए । बजेटको विषय पहिले नै आइसकेको हुनाले बजेट अभाव या बजेट वृद्धिका लागि नवौँ खेलकुद सारेको भन्न नमिल्ने बताए । ‘प्रदेशहरूको तयारी र कानुनी झमेलाले गर्दा प्रतियोगिताको मिति सार्नु परेको थियो । अब प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुनेछ । त्यसको लागि मन्त्रालय, राखेप र प्रदेशहरू तयार छन्,’ सदस्य–सचिव घिसिङले भन्नुभयो । उनले खेलाडीहरूले लामो तयारी गर्दा नतिजामा पनि धेरै सुधार आउने बताएका छन् । खेल प्रतिस्पर्धात्मक हुँदा हेर्ने दर्शकका लागि पनि राम्रो हुने बताए । नवौँ सर्दा विभागीय टोलीलाई पनि सहज भएको बताए । ‘पहिलो मिति तय गर्दा प्रदेशहरूको तयारी पुग्छ भन्ने लागेको थियो । तर, तयारी नपुगेको प्रदेशहरूको प्रतिक्रिया आयो । यता विभागीय टोलीहरू पनि चुनावको माहौलमा लागेको हुँदा उहाँहरू पुन: तयारीमा जुट्न सहज हुन्छ,’ सदस्य–सचिव घिसिङले भने । चुनावका लागि खटिएका खेलाडीहरूले पनि लामो समय तयारी गर्न पाउने हुँदा उनीहरूको लागि पनि प्रतियोगिता सर्दा केही राहत भएको बताए ।

Like