प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन: सञ्चारमन्त्री तिमिल्सिना

Share to:


अन्जनराज न्यौपाने
काठमाडौं
। – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले संविधानले नै प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको र त्यसलाई कुनै पनि अवस्थामा कुण्ठित गर्न नसकिने बताए।

“यो सरकारको कोही व्यक्तिले दिएको अधिकार होइन, संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ,” उनले भने।

तर उनले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभएको भन्दै पत्रकारिताले आफ्नो मर्यादा, गरिमा र सीमा कायम राख्नुपर्नेमा जोड दिए। “प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ। पत्रकारहरूले संवैधानिक अधिकार, आफ्नो गरिमा र सीमाभित्र रहेर काम गर्नुपर्छ,” मन्त्री तिमिल्सिनाले भने।

उनका अनुसार प्रेसले जिम्मेवारीपूर्वक काम गरे सरकारको हस्तक्षेप आवश्यक नपर्ने अवस्था सिर्जना हुन्छ। प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई अझ सक्षम र प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले जनाए।

मन्त्री तिमिल्सिनाले विश्व प्रेस स्वतन्त्रता दिवस र राष्ट्रिय पत्रकारिता दिवस २०८३ को अवसरमा पनि सुशासन, पारदर्शिता र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताएका थिए। उनले डिजिटल युगमा बढ्दो भ्रामक सूचना र सामाजिक सञ्जालको दुरुपयोग चुनौती बनेको भन्दै तथ्यमा आधारित, जिम्मेवार पत्रकारिताको खाँचो औँल्याएका छन्।

सरकारले काम गर्ने पत्रकार ऐनको पूर्ण कार्यान्वयन र विज्ञापन नीति २०८३ जस्ता नीतिगत व्यवस्थामार्फत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

Like