दमौलीको ट्राफिक व्यवस्थापनबारे व्यास नगरपालिकाद्वारा सरोकारवालासँग वृहत् अन्तरक्रिया

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश समाचार
तनहुँ ।
दमौली – व्यास नगरपालिकाले ट्राफिक व्यवस्थापन, जेब्रा क्रसिङ, फुटपाथ व्यवस्थापन, सडक व्यवस्थापन, सीसी क्यामेरा जडान तथा बस पार्किङ व्यवस्थापनका विषयमा यातायात व्यवसायी, उद्योगी, व्यापारी र स्थानीयसँग वृहत् अन्तरक्रिया गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत दमौलीको भोर्लेटारदेखि दुर्गा मन्दिरसम्मको सडकखण्डमा सवारीसाधन र यात्रुलाई सुरक्षित तथा सहज आवागमनको वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले सडक र यात्रुको सुरक्षाका विषयमा आफ्नो धारणा राखेका थिए।
सहभागीहरूले सडक अतिक्रमण नियन्त्रण, व्यवस्थित पार्किङ, पैदलयात्रीका लागि सुरक्षित जेब्रा क्रसिङ र प्रभावकारी ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिएका थिए। नगरपालिकाले उठेका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।

















