पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली हाजिरी जमानीमा रिहा
रासंसा/काठमाण्डौ, चैत्र २६,
मुलुकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन् । उनलाई आज केहीबेरअघि परिवारको जिम्मा लगाइएको हो । उनी १२ दिनअघि प्रहरीले पक्राउ गरेको थियो । ओली पक्राउ परेकै दिन पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक भने छुटिसकेका छैनन् । पक्राउपछि उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो । पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरुमाथि छ । ओली र लेखकलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट चैत १४ गते बिहान झिसमिसेमै उनीहरुकै निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि तीन पटक गरी १२ दिन म्याद थप गरिएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरुलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएकाले त्यसैका आधारमा आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । पक्राउपछि ओली एक दिन पनि प्रहरी कार्यालयको हिरासतमा बसेनन् । उपचारका नाममा उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । लेखकलाई भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ ।
