चुनावी मैदानडमा उम्मेदवारहरु पुराना फकाउँछन्, नयाँ रिसाउँछन्
रासंसा/काठमाण्डौ, फाल्गुण ७,
मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी राजनीतिक दल आबद्ध तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । चुनावी मैदानमा निस्किएका उम्मेदवारहरूले मतदाता रिझाउन उनीहरूका काम सघाउनेदेखि उनीहरूको ध्यान तान्न रचनात्मक क्रियाकलाप गरिरहेका छन् । प्युठानबाट उम्मेदवार भएका नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले मतदाताको घरघरमा पुग्दा गोठ बनाउने ठाउँमा वाल लगाउनेदेखि साग काट्ने र डोको बुन्नसम्म भ्याएका छन् । आँखै देख्न नसकिने गरी माला लगाएको भिडियो सार्वजनिक भएसँगै चर्चा र विवादमा परेका थापा मतदाताकहाँ जाँदा उनीहरूसँगै काम गरेका फोटो र भिडियो सोसल मिडियामा सेयर भइरहेको छ । चुनावी मैदानमा उत्रिएका चर्चित पत्रकार ऋषि धमलाले मतदातासँग मत माग्दै उनीहरूले गर्ने गरेका हरेक काममा आफूलाई सँगसँगै लैजान गरेका प्रयासहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । आम जनता पार्टी (आजपा) बाट उम्मेदवार भएका धमलाले रौतहट क्षेत्र नं ३ का जनताका अङ्खठेरामा पुगेर सँगै रोएका छन् भने चटपटे बनाउनेसँग चटपटे बनाउने, रिक्सा चलाउनेसँग रिक्सा चलाउने र किसानसँग खेतका काम गर्ने गरिरहेका छन् । मतदाता आकर्षित गर्न उम्मेदवारले यस्ता गतिविधि गरेका फोटो भिडियोसँगै मतदाताले प्रश्न सोध्दा उम्मेदवार रिसाएका भिडियोले झन सोसल मिडिया तातेको छ । बुधबार ललितपुर–२ का रास्वपा उम्मेदवार जगदीश खरेललाई एकजना मतदाताले सोधेको प्रश्नमा पूर्वसञ्चारमन्त्री तथा पूर्वटेलिभिजन प्रस्तोता समेत रहेका खरेलले जवाफ दिनुको सट्टा आक्रोशित भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी आङ्खनो निर्वाचन क्षेत्रमा घर बनाउने ठाउँमा काम गरिरहेका मजदुरहरूलाई काम रोकेर आङ्खनो कुरा सुन्नुहोस् भन्दा ‘हामी हाम्रो काम गर्छौं, तपाईं आङ्खनो काम गर्नुस्’ भनेका कारण घरधनी तथा मजदुरहरूलाई ‘राणा शासन जस्तो’ भन्दै आक्रोश पोख्दै गरेको अवस्थाको भिडियो सार्वजनिक भएको छ ।
खरेलले प्रश्नकर्ताको प्रश्न पूरै सुन्नसमेत नभ्याई आक्रोशित ढंगले अस्वीकार गरेको भिडियोले उनीप्रति आक्रोश व्यक्त गर्दै प्रतिक्रियाहरू आएका छन् । त्यस्तै, मोरङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार भएका रास्वपाका यज्ञमणि न्यौपाने पनि मतदातासँग विवाद गरेका कारण आलोचित छन् । घरधनी तथा मजदुर धम्काएको भन्दै रास्वपा उम्मेदवार न्यौपानेको सामाजिक सञ्जालमा आलोचना भएको छ । काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार भएका महानगर प्रहरीका पूर्वप्रमुख राजु पाण्डेको टोली पनि मतदातासँग झगडा गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो । यस्तै, रास्वपाकी धादिङ–१ की उम्मेदवार आशिका तामाङले पनि निर्वाचन क्षेत्रमा मत माग्दै गर्दा गाडीको हुटमा राखेर ढुवानी गरिरहेका बोकाहरूको अधिकार हनन भएको भन्दै गाडी चालकसँग झगडा गरेको भिडियो भाइरल भएको थियो । निर्वाचन क्षेत्रका मतदाताहरूले महानगर प्रहरीको टोली लिएर गरिखाने मजदुरहरूमाथि कुटपिट गरेको विषयलाई लिएर मतदाताले प्रश्न सोधेपछि पाण्डे नेतृत्वको टोली आक्रोशित भएको थियो । मतदाताले यसरी थर्काउनेलाई कसरी भोट दिनु भन्दै सवालजवाफ गरेपछि पाण्डेका कार्यकर्ताले स्थानीयलाई गाली गरेका थिए । रास्वपाका भक्तपुर–२ का उम्मेदवार राजीव खत्रीले पनि मत माग्दै गर्दा स्थानीयको घरभित्र जबरजस्ती पसेर ‘एकपटक भोट फेर्नुस्’ भनेपछि ‘जबरजस्ती गर्ने तपाईंं को ?’ भन्दै मतदाताले प्रतिवाद गरेका थिए । मत माग्न गएकाले ७६ जनाको हत्यारा र ३५ वर्ष देश लुटेकाहरू भन्दै आक्रोश पोखेपछि मतदाताले उनलाई ‘गेट आउट’ नै भन्नु परेको भिडियोमै देखिएको थियो ।