देवघाटको त्रेतायुगमा नि धार्मिक महत्व
देवघाटको त्रेतायुगमा नि धार्मिक महत्व

डा. के. बि.सम्राट
नारायणगढदेखि करिव ६ किलोमिटर उत्तरमा त्रिशुली र कालिगण्डकी नदीको संगमस्थलमा रहेको देवघाटधाम हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूणए देवघाटधाम शान्ति र आधात्मिक उन्नयनको लागि अति महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँबाट नदी, पहाडका हरिया सुन्दर दृश्य र जैविक विविधता अवलोकन गर्न सकिन्छ । देवघाटमा संस्कृत पाठशाला, पीठाधीश, विभिन्न देवदेवीका मन्दिर तथा बृद्धाश्रम समेत छन् । देवघाट आउने भक्तजनले चितवन र तनहुँ, जिल्ला जोड्ने झोलुङ्गे पुल तरेर तनहुँपट्टिको क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरको दर्शन पनि गर्छन् । देवघाट धाम तनहुँको देवघाट गाउँपालिका, नवलपरासीको गैडाकोट नगरपालिका र चितवको भरतपुर महानगरपालिकाको संगमस्थल पनि हो । देवघाटमा माघे सक्रातिका समयमा ठूलो मेला लाग्ने गर्छ ।
देवघाटको झोलुंगेपुल
माघे संक्रान्तिमा ठूलो मेला लाग्ने भए पनि देवघाटमा सधैंजसो भक्तजनको घुइँचो लाग्छ । वैशाख संक्रान्ति, माघेसंक्रान्ति, ठूलो एकादशी, बालाचतुदर्शी, ग्रहण लागेको समय र साउन महिनामा पनि भत्तजनको बाक्लो भिड लाग्छ ।
देवघाटमा नुहाएमा मोक्ष पाइन्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरुमा छ । देवघाटमा दर्जनौं मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम पनि छन् । यो क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा प्रख्यात छन्, परापूर्वकालमा समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती छ । यहाँको चक्रेश्वर मन्दिरमा ठूलो शिला स्थापित छ । बद्रीनाथ मन्दिर,केदारनाथ मन्दिर, वागिश्वरी मन्दिर, मौलाकालिका मन्दिर, महेश सन्यास आश्रम छ । यहाँ संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तहसम्मको पढाइ हुने गर्छ ।
महांकालको मुर्ति
यहीँको हरिहर सन्यास आश्रममा संस्कृतमा माध्यमिक तहसम्मको अध्ययन हुने गरेको छ । गलेश्वर आश्रम पनि छ । यस्तै, सीताराम मन्दिर, सत्यनारायण मन्दिर, साँढेवगर, लक्ष्मीवराह भगवान, सङ्मेश्वर पशुपति मन्दिर, यज्ञशाला मन्दिर, अष्टदश पुराण मन्दिर, शङ्कराचार्य मन्दिर आदि थुप्रै मठ मन्दिरहरु पनि रहेका छन् ।
देवघाटमा रहेका केही धार्मिक पर्यटकीय स्थलहरु :
वशिष्ठ गुफा र सीता गुफा : गलेश्वर आश्रमको पश्चिम कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ ।
वशिष्ठ गुफा
यहाँ वशिष्ठको मूर्ति छ । वशिष्ठ ऋषिको गुफा रहेको मुन्तिर सीतागुफा रहेको छ । रामचन्द्र वनबास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । भगवान रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफा भनेर चिनिएको छ ।
चक्रेश्वर मन्दिर : गलेश्वर आश्रम परिसरबाट पूर्वउच्च स्थानमा रहेको प्राचीन छ ऐतिहासिक चक्रेश्वर मन्दिर । यहाँ चक्रैचक्र भएको ठूलो शिला स्थापित छ । पाल्पाका राजा मुकुन्द सेनले यहीँ आएर तपस्या गरेका थिए ।
एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापित गरेकाले उनकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको हो । यस मन्दिरको वरपर चार ठाउँमा मन्दिरका भग्नावशेषहरू रहेका छन् । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर रहेको मान्यता छ ।
केदारनाथ मन्दिर : झोलुङ्गे पुलबाट पूर्वतर्फ केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो यो मन्दिरको पहिलो तलामा शिवपञ्चायन देवताका मूर्ति स्थापना गरिएको छ । माथिल्लो तलामा गङ्गाजी र त्यहाँबाटै जलधारा हुने व्यवस्था गरिएको छ ।
बागीश्वरी मन्दिर : देवघाट र नारायणगढको मध्यमार्गमा रहेको जङ्गलमा ऐतिहासिक बागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको दुईवटा बाघका कलात्मक मूर्ति छ । अन्य शिलामूर्ति भग्नावशेषका रूपमा रहेका छन् । मूर्तिको अध्ययन गर्दा पन्ध्रौ शताब्दीतिरको भएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
देवघाट त्रिशुली नदी ।
बद्रीमन्दिर : झोलुङ्गे पुलबाट पूर्वतर्फ बद्रीनाथ भगवानको विशाल मन्दिर छ ।
मौलाकालिका मन्दिर : गैँडाकोटको डाँडामा रहेको यो मन्दिर पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा सैनिकले शिलाको स्थापना गरी कालिकाको पूजा गर्दै आएको मान्यता रहेको छ ।
महेश सन्यास आश्रम : वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्न आश्रमको स्थापना गरिएको हो । २०५० सालमा डाक्टर स्वामी रामानन्द गिरिले स्थापना गरेको यो आश्रममा संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म संस्कृत विषयको पढाइ हुने गरेको छ । प्राचीन गुरुकुलको सम्झना दिलाउने गरी सय जनासम्म छात्रले दीक्षित हुँदैछन् । जुन पढाइ निशुल्क रुपमा हुन्छ ।
हरिहर सन्यास आश्रम : एक हजार भक्तजन अट्न सक्ने गरी निर्माण गरिएको यो आश्रममा संस्कृतमा माध्यमिक तहसम्म अध्ययन हुँदै आएको छ । आवासीय सुविधासहित वटुकहरूले यहाँ निःशुलल्क अध्ययन गर्छन् ।
हरिहर आश्रम सिद्धेश्वर महादेव
आजभन्दा करिब २८०० वर्ष पहिलेतिर लेखिएको शतपथ ब्राह्मण ग्रन्थ (१।४।१।१०–१९) को वर्णनअनुसार (सरस्वती नदी सुकेकोले त्यहाँबाट बसाइसराइ गर्ने उद्देश्यले) विदेहमा यव नामक आर्य राजा अथवा सेनापति वैश्वानर अग्निका साथ आफ्ना पुरोहित ऋषि हरगुण (गौतम)को मार्गदर्शनमा कौशल (हालको सीतापुर गौंडा) र काशी देशहरुका स्थापित राज्यहरुको उत्तर (तराई क्षेत्र)बाट पूर्वतर्फ लागी सदानीका (सप्तगण्डकी, नारायणी) नदी तरेर त्यहाँ पुगेका थिए । जहाँ उनले विदेह (मिथिला) राज्यको स्थापना गरे भनिएको छ । भारतीय वैज्ञानिकहरु (ईसरो, भामा परमाणु शोधकेन्द्र आदि)का खोज आधारमा यस कालखण्डलाई आजभन्दा करिब ४ हजारदेखि ४२ सय वर्ष पहिलेको मान्न सकिन्छ । देवघाटको नजिक उत्तरमा ऋषि रहुगणको आश्रम छ, जसलाई स्थानीयहरु राजा रहुगणको मन्दिर भन्दछन् । देवघाट केन्द्रको स्थापना यसै कालखण्डमा भएको र पछि यो स्थान, श्रीरामचन्द्रको राज्यकाल आजभन्दा करिब ३५०० वर्ष पहिले प्रख्यात भइसकेको देखिन्छ ।
माछापुच्छ«े अन्नपूर्ण ४ तिरको क्षेत्र र धौलागिरी श्रृंखलाको दामोदरकुण्ड (कृष्ण गण्डकीको उद्गम स्थल नगीचको क्षेत्र) गरी यी सप्तगण्डकीको जलाधार क्षेत्रलाई हरिहर क्षेत्रको पूर्व पश्चिमी सीमाना मानिएको वर्णन वराह आदि पुराणहरुमा पाइन्छ । देवी पार्वतीले भगवान् शिवलाई पति पाउन तपस्या गर्दा पार्वतीले उपर्युक्त ऋषिहरुको दर्शन गर्न यस क्षेत्रको भ्रमण गरेको र यसै क्षेत्रमा भगवान् शिवको प्रायः भ्रमण र उपस्थिति हुने मान्यता भएकोले यसको उत्तरी भागलाई हरक्षेत्र र दक्षिणी क्षेत्रमा विष्णु भगवान्को विशेष उपस्थिति हुने हुनाले यसलाई हरिक्षेत्र भनिएको पाइन्छ । सुन्दा आश्चर्य लाग्ला तर प्रमाणित तथ्य के हो भने चितवन, नवलपरासी र तनहुँ जिल्लाको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाट आजभन्दा करिब चार हजार वर्ष पहिले (त्रेतायुगमा नै) धार्मिक पर्यटकीय केन्द्र बनिसकेको थियो । यस क्षेत्रलाई नैमिश्यारण्यको पूर्वी सीमा र गण्डकपूर्वको बृहदारण्यको पश्चिमको संगमस्थल पनि भने हुन्छ । यसको अर्को परिचय पनि छ । देवघाट हरिहर क्षेत्रको आधार शिविर पनि हो । यस पवित्र हरिहर क्षेत्रको सिमाना दक्षिणमा नवलपरासीको त्रिवेणी वाल्मीकि आश्रम देवघाटदेखि उत्तरमा (१) अत्रि ऋषिको आश्रम रहेको त्रिशूली (धर्मधाराको) मुहान (२) यसपछि क्रमशः पश्चिमतर्फ मारिचिवंशी ऋषिको आश्रम यशोधारा (बूढी गण्डकी)को मुहान, (३) नारदवंशी ऋषिहरुको तपस्थली दरौंदी (विश्वधारा)को मुहान, (४) पुलश्य ऋषिको आश्रम मादी (माद्री) अर्थात् रत्नधाराको मुहान अन्नपूर्ण २ को ग्लोहोमर क्षेत्र (६) पुलह ऋषिको तपस्थली सुवर्ण श्वेत गण्डकीको मुहान
देवघाटको प्राचीन नाम देवाटवी रहेको वाराहपुराण सोमेश्वर, मुक्ति क्षेत्र त्रिवेणी महात्म्य श्लोक १६५ मा देवघाटलाई देवाट (देवानामटच्चैव देवाट इति) भनिएको छ । त्यो स्थान जहाँ देवताहरु (आर्यजन, देवगण, ऋषिगण) घुम्न फिर्न आउँछन्, त्यस्तो स्थानको नाम देवाटवी हो । जनजिब्रोमा देवाट नै पछि गएर देवघाट भएको हो । यहाँ बसेर देवगण र ऋषिहरुले धार्मिक छलफल गर्ने, त्यहाँको नदी पहाड, हिमश्रृंखलाको दृश्यावलोकन गर्ने जलक्रीडा गर्ने र रमाउने ठाउँ मध्यवैदिक युग अर्थात् त्रेतायुगको ‘टुरिष्ट डेष्टिनेसन’ यो देवघाट रहेछ । उपर्युक्त वराहपुराणको उक्त महात्म्यमा श्लोक १६३–१६४ मा यसैस्थान नजिक उत्तरतिरको रुरुक्षेत्रको पादखण्डमा कतै नन्दीकेश्वर (नन्दी वृषम राज)ले गोधनलाई बढाएको वर्णन छ । त्यहाँको कुनै सानो नदी या खोलालाई गोमती भनिएको स्पष्ट संकेत पाइन्छ । यो गोमती खोला नैमिश्यारण्यको पूर्वी सिमानामा कतै हुनुपर्छ । गण्डकनदी उत्पत्ति, मुक्तिनाथ क्षेत्र, रुरु शालिग्राम आदिको वर्णन स्कन्दपुराण हिमवत्खण्डमा विस्तारमा वर्णन रहेको पाइन्छ । वराह पुराण खण्डको मूल भागमा मुक्ति क्षेत्र, त्रिवेणी, शालिग्राम क्षेत्र र रुरु
(रिडी) क्षेत्रको वर्णन पाइन्छ । यस्ता वर्णनहरुको अतिशयोक्तिहरुलाई झिकी सांकेतिक अर्थ बुझ्नसकेमा यिनीहरुमा धेरै प्राग्–ऐतिहासिक महत्वको वर्णन र स्थानहरुको सूचना पाइन्छ ।राजा पुरुषोत्तम श्रीरामको समयताका देवघाट, ऋषिमुनिहरु उच्च हिमाली क्षेत्रमा तपस्या गर्न तीर्थ दर्शन गर्न जानेहरुको आधारशिविर, सम्मेलन स्थल, मेलास्थल मात्र नभई वशिष्ठवंशीहरुको ठूलो गुरुकुल (शैक्षिक केन्द्र) समेत रहेको देखिन्छ । यहाँ श्रीरामचन्द्र र उनका भाइहरुको शिक्षादीक्षा भएको जनश्रुति र वर्णन पाइन्छ । वाल्मीकि आश्रम नजिकै भएको र लवकुशले श्रीरामको अश्वमेध यज्ञको घोडा कब्जामा लिएको, सो यज्ञपछि माता सीताको लागि धर्ती फाटेको स्थल पनि यही भएको जनश्रुति अझै सुनिन्छ । सीताको गुफा भनिने गुफाबाट नारायणी नदीमै पुग्ने भनिने गुफा आज पनि हेर्न सकिन्छ । साथैको वशिष्ठ ऋषिको गुफाले यस तथ्यको पुष्टि गर्दछ । यस प्रकारले हेर्दा र शंख र चक्र चिह्नयुक्त शालिग्रामको उपलब्धिले पनि देवघाट, मिथिला, अवध, काशी, कन्नोज पांचाल आदि देशका धार्मिक पर्यटकहरुको ठूलो आकर्षण केन्द्र रहेको देखिन्छ । यसै कालखण्डमा आर्यजनहरुले भगवान् शिवशंकरलाई आफ्ना प्राचीन देवता रुद्रको अवतार मानी उनीबाट संरक्षण पाएकाले स्थानीय किन्नर, किराँत, यक्ष (य–खस्) मिल्हा निषाध शवरजस्ता आदिवासीहरुसँग पनि सौहार्दपूर्ण व्यवहार र मैत्रीभाव पाएकाले पनि देवघाट क्षेत्रको विकास र विस्तारमा ठूलो योगदान पुगेको हुनुपर्दछ । अयोध्याका रघुवंशीहरु र मिथिलाका जनकहरुको साम्राज्य क्षीण भएपछि क्रमशः महाभारत युद्धकाल आजभन्दा करिब ३ हजार वर्ष पहिलेदेखि देवघाट पनि ओझेलमा पर्दै गएको अनुमान गर्न सकिन्छ । देवघाटमा पशुपतिनाथ, जनकपुरको जानकी मन्दिर अथवा लुम्बिनीको जस्तो विशाल र भव्य मन्दिरहरु छैनन्, तर त्यहाँको पौराणिक गाथाहरु अत्यन्त महत्वपूर्ण छन् । प्राकृतिक दृश्यहरु अत्यन्त मनमोहक छन् र विश्वमै ख्याति पाउनसक्ने केही वैज्ञानिक महत्वका पुरातात्विक अवशेषहरु त्यहाँ छन् । प्राकृतिक सौन्दर्यमा विश्वसम्पदा सूचीको चितवन राष्ट्रिय निकुन्ज, त्यहाँबाट हिउँदमा देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु र गणेश हिमाल पर्वत श्रृंखलाका आठ हजार मिटरभन्दा अग्ला तीन हिमशिखरहरु, नारायणी नदीका सुन्दरतट र नजिकका घना जंगलले पर्यटकहरुलाई मोहित पार्न सक्दछन् । नारायणीमाथिको झोलुंगे पुलले पनि उनीहरुलाई रोमाञ्चित पार्दछ । देवघाटको अर्को आकर्षण भनेको माथि मुकुन्देश्वर मन्दिरमा रहेको करिब एक मिटर लामो ६०–७० सेमि चौडाइ भएको र ॐ र चक्र अंकित समुद्री कछुवाको जीवश्म हो । विज्ञानका छात्रहरुका लागि हिमालयन अपह्वील थ्योरीको पुष्टि गर्ने यो विश्वकै ठूलो कूर्मावतार शालिग्राम भनी पूजा गरिने यो जीवाश्म ३–४ करोड वर्ष पहिलेको हुनसक्दछ । यसको कार्बन डेटिङ परीक्षण भई अन्तर्राष्ट्रियस्तरको प्रचार भए, यो विश्वव्यापी आकर्षण हुनसक्नेछ । विख्यात आर्थिक र औद्योगिक क्षेत्रको भविष्य द्रष्टा हरमन कान्हले पर्यटन उद्योग विश्वकै सबैभन्दा ठूलोमध्ये एक उद्योग भइसकेको र अगाडि ४०–५० वर्षमा यो उद्योग अझै ठूलो भई एक नम्बरको उद्योग हुने सम्भावना जनाएका थिए । उनको विचारमा सांस्कृतिक पर्यटन उद्योगले आर्थिक लाभ बाहेक पनि राजनीतिक, सामाजिक र बौद्धिक लाभ समेत धेरै बढी दिने गरेको हुन्छ । धार्मिक पर्यटन सांस्कृतिक क्षेत्रभित्रै पर्दछ । तर, यस उद्योगलाई बढाउन अत्यन्त विवेकयुक्त योजना, बजार व्यवस्थापन, प्रवद्र्धन र सेवा प्रदानमा दक्ष व्यवस्थापन चाहिन्छ । तर नेपालमा यसको अत्यन्त बढी खाँचो रहिआएको छ । धार्मिक पर्यटन नै विश्वको सर्वप्राचीन पर्यटन उद्योग हो । सामान्यतया धार्मिक पर्यटकहरु बढी उमेरका र पर्याप्त आर्थिक साधनयुक्त हुन्छन् । तर, नेपाल भारतको धार्मिक आस्था गरिब र मध्यमवर्गीयमा झन् बढी नै पाइन्छ । यिनीहरुको आकर्षण भव्य र प्रख्यात मन्दिरहरु र धार्मिक संरचना अथवा प्रकृतिप्रदत्त आकर्षणहरुमा बढी हुन्छ भने शिक्षित वर्गको ध्यान पौराणिक वर्णन वैज्ञानिक सूचनाहरु आध्यात्मिक ज्ञानको आदान–प्रदानमा बढी हुन्छ । यो बुझेर प्रचार–प्रसार गरे मात्र धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । आज सँगैको चितवन राष्ट्रिय निकुञ्जमा डेढ लाखभन्दा बढी पर्यटक आउँछन् तर देवघाटबारे उनीहरुलाई थाहा छैन । यस परिप्रेक्ष्यमा हेर्दा देवघाटलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने न्यून प्रयास पनि असफल भएको देखिन्छ र देवघाट आज आँगनको देवता भएको छ । देवघाटको माता सीताको लागि धर्ती फाटेको भनी गुफा र त्यसमा पसी सीताजीको स्वर्गारोहण भएको रामायणको वर्णन र जनश्रुतिसँग सम्बन्धित गुफा र सँगैको वशिष्ठ ऋषिले तपस्या गर्ने गुफा सम्भवतः श्रीराम र उनका भाइहरुले शिक्षा प्राप्त गरेको तथा उनीहरुको व्रतबन्ध भएको मानिने गुरुकुलका भग्नावशेषहरु श्रीरामले अश्वमेध अथवा अन्य यज्ञ गरेको मानिने यज्ञशाला हिन्दू धर्मावलम्बीहरुको अगाध श्रद्धा र आकर्षण रहनसक्दछ । तर, सही र सही सञ्चारमाध्यमबाट प्रचार–प्रसार भने हुन जरुरी छ । साथै, करिब ३०÷४० किलोमिटर तल रहेको नारायणीको त्रिवेणी र वाल्मीकि आश्रममा लवकुशको पालनपोषण एवं शिक्षादीक्षा भएको स्थल प्राकृतिक रुपमा पनि अत्यन्त सुन्दर छ । सबैजस्ता पुराणहरुमा पाइने गजेन्द्रमोक्ष वर्णन भएको ठाउँ पनि यही नै हो । भगवान् श्रीहरि विष्णुले हात्तीहरुका राजाको उद्धार गरेको हरिहर क्षेत्रको दक्षिणी भाग पनि यही हो । यहाँ अझै पनि हजारौं गोही र ५०औं जंगली हात्ती देख्न सकिन्छ । पर्यटकहरुका लागि गन्तव्यका आकर्षणहरु जस्तै महत्वपूर्ण विषय सेवा सुविधाका पूर्वाधार पनि हुन्छन् । यसमा नेपाल धेरैपछि परेको छ । देवघाट र त्रिवेणीको बीचमा पर्ने सौराहामा झण्डै सयजति होटल लजहरु, बैंक, पक्की सडक, सञ्चारमाध्यम आदिको सेवा सुविधा उपलब्ध छ । तर पनि देवघाट र त्रिवेणी हुँदै जनकपुर जोड्ने प्याकेज बनाई कसैले ‘मार्केटिङ’ गरेको देखिन्न । सौराहा रिभर फ्रन्टको चितवन टाइगर क्याम्पले मात्र हनिमुन र परिवारका लागि देवघाटको भ्रमणको प्याकेज बनाई धार्मिक पर्यटन र सफारी प्याकेज मिलाई मार्केटिङ गर्ने गरेको छ । देवघाटको नारायणी संगममा स्नान गरी हरि र हरको पूजा गर्ने स्त्रीहरुलाई सौभाग्य, सुख, सुन्दरता प्राप्त हुन्छ र पुरुषहरुलाई दीर्घायु र सुख सम्पत्ति प्राप्त हुन्छ भनी स्कन्द र वराह पुराण आदिको अभिलेखमा विश्वास गर्ने वैज्ञानिक र आध्यात्मिक आधारहरु छन् । नवविवाहित जोडीहरुका लागि धार्मिकताका साथ हनिमुन मनाउन पनि देवघाट चितवन राष्ट्रिय निकुञ्जको यात्रा अत्यन्त सुखमय हुनसक्दछ । नेपालमै पनि यसको ठूलो मार्केट छ । खाँचो छ त विवेकयुक्त र सही प्रकारको, साइवर र टिभी प्रचारप्रसार र पूर्वाधार निर्माणको । अब विदेशी लोन्ली प्लानेट अफ गाइडको सूचना र महोत्सवमा मात्र भर पर्न सकिन्न । नवलपरासी, तनहुँ र चितवनका माननीय सांसद्हरु र देवघाट क्षेत्र विकास समितिको पनि यसतर्फ गम्भीर ध्यान जानुपर्दछ । पौराणिक आख्यानहरुले पनि पर्यटकहरुलाई लोभ्याउँछन् । हालका वर्षहरुमा भारत र नेपालमा शिवपार्वतीसँग सम्बन्धित र रामायण कथामा आधारित टेलिश्रृंखलाहरु अत्यधिक लोकप्रिय भएका छन् । हरिहर क्षेत्र महादेव शिवशंकर, श्रीरामसीता, जालंधर र विष्णुका आख्यान आदिसँग धेरै जोडिएको छ । रुद्राक्ष र शालिग्रामप्रति विश्वव्यापी जिज्ञासा र आकर्षण छ । देवघाटको कालागण्डकी बगरहरुमा पर्यटकहरुले खोजेमा अझै पनि शालिग्राम पाउन सक्दछन् । जेरुसलमको माटो र जोर्डन नदीको पानी करोडौं पर्यटकहरुले किनेर लाने गरेझैं देवघाटका शालिग्राम मात्र हैन, स–साना अत्यन्त सुन्दर लोहडाहरु पनि सुमिनायरको रुपमा बिक्री हुन सक्नेछन् । मृत्युको प्रतीक्षामा रहेका एवं धर्मकर्ममा लीन वृद्धवृद्धाहरुको अनुहार र हाउभाउले पनि कैयौं विदेशी पर्यटकहरुले क्यामरामा संग्रहित गरेको यस लेखकले देखेको छ । बेलपत्र र रुद्राक्षजस्ता वृक्षहरु र त्यहाँका लज्जावती झार, सिस्नो आदिजस्ता जडीबुटीमा पनि पर्यटकहरु आकर्षण हुनसक्दछन् । बाटोमा उनीहरुले राष्ट्रिय निकुञ्जको दृश्यावलोकन पनि गर्नसक्नेछन् । अतः यहाँ सम्भावनाका क्षेत्रहरु अनेक छन् ।