जल संरक्षण नगरेका कारण सुके खोला र खोल्सा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ९,

मुलुकमा केही वर्षअघि काठमाडौँ उपत्यकामा काभ्रेपलान्चोकको पाँचखालाबाट ठुलो मात्रामा तरकारी ल्याइन्थ्यो । अहिले त्यो मात्रा घटेको छ । यसो हुनुमा त्यहाँको झिकु खोला सुक्नु नै मुख्य कारण देखिएको छ । बाराको सिम्रौनगढ नगरपालिका–२ का सुनिल यादवको घरमा दुई वटा ट्युबवेल (चापाकल) छन् । ती दुवै चापकलमा फागुनदेखि असारसम्म अर्थात् बर्खा नलागेसम्म पानी आउँदैन । यो चार महिना मेसिन लगाउँदा अलिअलि पानी आउँछ । ‘पछिल्ला तीन–चार वर्षदेखि पानी बिस्तारै कम हुन थालेको छ । अहिले हामीलाई पानीको समस्या छ,’ चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्तासमेत रहेका यादव भन्छन्, ‘पानी सुकेका वेला नगरपालिकाले ट्यांकरमार्फत पानी बाँडेको पनि दुई वर्ष भयो ।’बर्खायममा उर्लेर बाढी आउने र अरू समय मरुभूमि बन्ने यो खोलाको आसपास खेती पनि सुक्न थालेका छन् । जलाधारविज्ञ मधुकर उपाध्यायाका अनुसार करिब ४० देखि ५० वर्षअघि झिकु आसपास उत्पादन हुने धेरै तरकारी काठमाडौँ ल्याइन्थेँ । तर अहिले थोरै मात्रामा आइपुग्छन् । ‘खोलाको सिँचाइले प्रशस्त तरकारी फल्थ्यो, ५० देखि ६० प्रतिशत तरकारी काठमाडौँमा सोही क्षेत्रबाट आउँथ्यो,’ उनले भने, ‘त्यो खोला सुक्यो र सिँचाइ पनि हुँदैन । तर केही ठाउँमा भने हुने गरेको छ ।’ जलाधारविज्ञ उपाध्यायाका अनुसार एक सरकारी अध्ययनले उच्च पहाडी क्षेत्रमा शतप्रतिशत खोल्सा सुकेको देखाएको छ । मध्यपहाडी क्षेत्रका ६५ देखि ७० प्रतिशत खोल्साहरू सुकेका देखाइएको छ । कैलालीमा पनि ५० प्रतिशत चापाकल सुकेका छन् । मधेश प्रदेशमा ३० प्रतिशत चापाकल सुकेका छन् । उनले भने, ‘मुलहरू सुकेका छन्, कुवाहरू सुकेका छन्, पश्चिम र पूर्वमा पानीका मूल तथा खोल्साहरू सुक्ने क्रममा छन् ।’ नेपालमा पहिलाझैँ झरी पर्न छोड्यो, पहिला हिउँदमा पानी पर्थ्यो, आजभोलि पर्दैन । हिउँदमा पानी नपरेको तीन वर्ष भएको उपाध्याया सुनाउँछन् । ‘नेपालको जलस्रोत प्राकृतिक वितरण बिग्रिएको छ, निकै परिवर्तन भएको छ,’ उनले भने, ‘साना खोला खोल्सीहरू सुकेका छन् । उच्च पहाडमा अझै बढी सुकेको छ भने तराई भेगमा भूमिगत पानी निकै तला गएका छन् ।’ यसो हुनुमा जलवायु परिवर्तन रहेको उनी बताउँछन् । नेपालमा पानीका मुहानमा पानी आउन नसक्नु ठुलो चुनौती बनेको छ । यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको छ । खानेपानीको सकसका कारण बर्सेनि हजारौँको संख्यामा बसाइँसराइ हुन थालेका छन् । उत्पादन हुने क्षेत्रमा खेती नै हुन सकेको अवस्था छैन । सुक्खाका कारण जंगलमा आगलागी हुने समस्या देखापरेका छन् । यसरी सामाजिक र पर्यावरण नै खल्बलिएको उपाध्याया बताउँछन् । यस्ता समस्यालाई समाधान गर्न बर्खामा आएको पानी जमिनमा हाल्नुपर्ने उनी सुझाउँछन् । उनले भने, ‘यसलाई कसै पुनर्भरण भन्छ, कसैले रिचार्ज भन्छ ।’ वन्यजन्तु मासिनुका साथै वनमा हुने सूक्ष्म जीवाणुदेखि पर्यावरण असन्तुलनको समस्या देखा पर्न थालेको छ । साथै जंगली जन्तुहरू गाउँ पस्न थालेका छन् । नेपालमा जलसँग सम्बन्धित रणनीति, योजना, कार्यक्रम प्रायः जलवायु परिवर्तनका समस्या नहुँदादेखिका छन् । यसलाई समय सान्दर्भिक बनाउनुपर्ने उनको जोड छ । जलस्रोतलाई संरक्षण गर्न जमिनमा पानी पुनर्भरणको कार्यमा सरकार तथा सरोकार निकायले ध्यान दिनुपर्ने देखिएको छ । यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत विधेयक संघीय संसद्मा छलफल भइरहेको जनाएको छ । संसद्मा प्रस्ताव गरिएको विधेयकमा जलस्रोत उपयोगको प्राथमिकता निर्धारण, संरक्षण, दिगो व्यवस्थापनलगायत विषय समावेश गरिएको मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।

Like