पीएन क्याम्पस दिनभर तनावग्रस्त रह्यो, मतदान भोलि मात्रै

Share to:

मिनबहादुर कुँवर/कास्की, चैत्र ५,

मुलुकमा देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखरामा मंगलबार मतदान नहुने भएको छ। स्थगित मतदान भोलि बुधबार बिहान ८ बजेदेखि सुरु हुने पिएन क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जनाएका छन्। मतपत्रमा अखिल छैटौँको रेजा लगाउने बक्स छुटेपछि मंगलबारका लागि तय भएको मतदान स्थगित भएको सूचनामा उल्लेख छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत मंगलबार मतदानको समय तोकिए पनि मतपत्रमा देखिएको त्रुटिका कारण स्थगित भएको छ। मतपत्र छाप्न ढिलाइ हुँदा मतदानमा ढिलाइ भएका कारण मतदानको समय बुधबारका लागि सारिएको जनाइएको छ। यसअघि स्ववियुको पदाधिकारी चयन गर्न मतदान हुने आशामा बिहान ८ बजेदेखि नै विद्यार्थीहरू क्याम्पस गेट बगर पुगेका थिए। जहाँ विद्यार्थीहरूको पर्खाई अधैर्य देखिन्थ्यो। सूचनामा निर्वाचन अधिकृत प्रा.डा. पोखरेलले प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल छैटौँको अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोप्रति गम्भीर आत्मालोचना गरेका छन्। मतपत्रमा त्रुटि देखिएपछि मंगलबार मतदान हुने/नहुने अन्योल देखिएपछि विद्यार्थीले पटक/पटक मतदान सुरु गर्न दबाब दिएका थिए।जसले गर्दा पीएन क्याम्पसको मुख्य गेट अगाडिको क्षेत्र दिनभर तनावग्रस्त बन्यो। यस बिचमा पटक/पटक प्रहरी र विद्यार्थीबिच झडपसमेत भएको थियो। प्रशासनको कमजोरीमा खेलेर केही विद्यार्थी संगठनले चुनाव बिथोल्न खोजेको भन्दै कहिले अनेरास्ववियु त कहिले नेविसंघ अनि कहिले अखिल क्रान्तिकारीले नाराबाजी र विरोध प्रदर्शन गरिरहे। पीएन क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जनाको उम्मेदवारी परेको छ। सभापतिमा एमालेनिकट अनेरास्वियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशील न्यौपाने र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट नवीन अधिकारीले उम्मेदवारी दिएका छन्। पीएन क्याम्पसको सभापतिका लागि विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सभापतिमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू, अखिल समाजवादी विप्लव, र अखिल क्रान्तिकारी बहुमतको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौँबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिएका छन्। पीएन क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको निर्वाचन समितिले जनाएको छ। अनेरास्ववियुले सधैँ जित्दै आएको पीएन क्याम्पसमा विसं. २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन। यहाँ नेविसंघले जनमत बढाएकाले मत परिणाम आफ्नो पक्षमा आउने उसको दाबी छ। अन्य संगठनले भने आफ्नो मत सुरक्षित गर्नेतर्फ ध्यान दिएको बताएका छन्। त्यसैले अनेरास्ववियुलाई आफ्नो विरासत जोगाउन चुनौती छ। एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको र त्यसले विद्यार्थीमा पनि फरक पर्ने भएकाले यस पटकको स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विरासत जोगाउन हम्मे हम्मे हुने विश्लेषण गरिएको छ।

Like