चर्चामा देवघाटधाम तनहुँको परमानन्द गुरुकुल
पुष्पराज खतिवडा/तनहुँ, फाल्गुण २५,
मुलुकमा हालसालै साहित्यिक पत्रकार संघद्वारा आयोजित क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता – २०८१ को नतिजा सार्वजनिक भएसँगै श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठ पुनः चर्चाको केन्द्रमा आएको छ। प्रतियोगितामा भाग लिएका विजयी विद्यार्थीहरू सबै यसै संस्थाका भएका छन्, जसले गुरुकुलको शैक्षिक स्तर, बौद्धिक उन्नति, र लेखनकलाप्रतिको जागरूकता झल्काउँछ।
मुलुकको सामाजिक, सांस्कृतिक तथा राजनीतिक अवस्थालाई गहिरोसँग चित्रण गर्दै राष्ट्रप्रति युवा पुस्ताले देखाउनु पर्ने दृष्टिकोणलाई पुरस्कृत विद्यार्थीहरुले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। यही कारणले गर्दा उनीहरूको निबन्धले निर्णायकहरूको मन जित्दै विजय हासिल गर्न सफल भए ।

यस विश्वव्यापी खुला “आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१” मा दिपन अधिकारी प्रथम स्थान हासिल गर्न सफल भए। यस प्रतियोगितामा द्वितीय हुन सफल विपिन ढकालको “आँखाअघि देशको चित्र” निबन्ध निकै उत्कृष्ट मानिएको छ। जुन निबन्ध मानवतावाद, देशप्रेम, राष्ट्र प्रेमले ओतप्रोत थियाे । तेस्रो स्थान प्राप्त नीराजन ढकाल समेत गुरुकुलकै विद्यार्थी हुन्, जसको निबन्ध “एक अँजुली माया देशको लागि” ले पाठकहरूमा राष्ट्रराग जागृत गराउने खालको छ।
परमानन्द संस्कृत गुरुकुलका विद्यार्थीहरू मात्र धार्मिक एवं शास्त्रीय ज्ञानमा सीमित नभई साहित्यिक, समसामयिक तथा वैचारिक विषयहरूमा पनि अब्बल छन्। यसले गुरुकुल शिक्षाले विद्यार्थीहरूको बौद्धिक विकास मात्र नभई उनीहरूको बहुआयामिक क्षमतालाई समेत निखार्ने गरेको स्पष्ट हुन्छ।
गुरुकुल शिक्षाको पद्धति बाहिरी विद्यालयहरूभन्दा विशेष छ। यहाँ विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र होइन, नैतिकता, अनुशासन, संस्कार, तथा व्यवहारिक शिक्षा समेत प्रदान गरिन्छ। गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरूले आध्यात्मिक चेतना, दार्शनिक सोच, र समसामयिक ज्ञानलाई जोडेर शिक्षा ग्रहण गर्छन्, जसले गर्दा उनीहरू समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बन्छन्।

हालसालै भएका यी सफलताहरूले २०२८ सालदेखि सञ्चालित देवघाटधाममा अवस्थित परमानन्द संस्कृत गुरुकुलको उच्च शैक्षिक स्तरलाई पुनः प्रमाणित गरेको छ। गुरुकुल शिक्षाले परम्परागत र आधुनिक ज्ञानलाई समान रूपमा समेटेर विद्यार्थीहरूको उज्ज्वल भविष्यको ढोका खोल्ने कार्य गरिरहेको छ, जसले गर्दा यो संस्था सर्वत्र चर्चाको विषय बनेको छ ।