दुई राप्रपालाई पूर्वराजाको सम्बोधनले हौस्यायो
रासंसा/काठमाण्डौ, फाल्गुण ७,
मुलुकमा प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी मात्रै दिएनन्, देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वानसमेत गरे। राप्रपाका महामन्त्रीसमेत रहेका पार्टीका आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणाले देश सङ्कटमुक्त बनाउन जुट्ने बेला भएको बताएका छन्। ‘देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोध गर्दछु,’ उनले भनेका छन्। यसपछि दुई राजावादी दल राप्रपा र राप्रपा नेपाल हौसिएका छन्। पूर्वराजाको सम्बोधनलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै उनीहरूले अब सम्पूर्ण देशभक्त एकजुट हुनुपर्ने बेला भएको बताएका छन्। उनी अगाडि भन्छन्, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान भएको छ। देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु।’ अर्का राप्रपा नेता प्रकाशचन्द्र लोहनी त पार्टीको बैठक नै डाक्नुपर्ने ठान्छन्। ‘राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ। यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्यसम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ,’ उनले भनेका छन्। यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पूर्वराजाको सन्देशलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्। पूर्वराजाको सन्देशले अत्यन्तै मार्मिक ढंगबाट परिस्थितिको चित्रण गरेको भन्दै उनले भनेका छन्, ‘फेरि राजा र जनता मिलेर साझेदारीमा देशलाई बचाउने र बनाउने काम गर्नुपर्छ। राजाको भनाइ प्रजातन्त्र, दल र नेताविरुद्ध होइन, मुलुकको समस्याप्रति हो। कसैलाई निषेध नगरौँ, सबै अटाउने प्रणाली आवश्यक छ।’ यस्तै राजा र राजसंस्थाका अन्य हिमायती तथा समर्थकहरूले पनि पूर्वराजाको सम्बोधनलाई महत्त्वपूर्ण रूपमा ग्रहण गर्नुपर्ने बताइरहेका छन्।