अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

रविसहित १५ जनालाई चितवनमा प्रतिवादी कायम गर्न राय

Share to:

रासंसा/चितवन, माघ १५,

मुलुकमा चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १५ जनाविरुद्धको पूरक अभियोजनका लागि अनुसन्धान प्रतिवेदन बुझाएको छ । चितवन प्रहरीले यसअघि ४ माघमा १४ प्रतिवादी कायम गुर्नपर्ने राय दिएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएकामा आइतबार पुनः बुझाएको प्रतिवेदनमा भने एक जनाको नाम थप भएको छ । ४ माघमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले निर्देशनसहित फिर्ता गरेको थियो । निर्देशनअनुसार थप कागजात र प्रमाण पेस गरेर चितवन प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । अनुसन्धान अधिकृतहरूले सहारा बचतको टाँडी शाखामा खाता सञ्चालन गर्ने प्रगति श्रेष्ठलाई पनि प्रतिवादी बनाउन राय दिएको छ । यससँगै पूरक अभियोगमा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित १५ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिइएको हो । यस्तै, प्रहरीको यसअघिको प्रतिवेदनमा साहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको र बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ हिनामिना भएको उल्लेख थियो । तर, ४३ करोड रकम मात्रै ६ वटा कम्पनीमा गएको र अन्य रकम के कति कहाँ गएको हो भन्ने ’boutमा प्रहरीको अनुसन्धान नपुगेको देखिएको सरकारी वकिलले जनाउँदै प्रतिवेदनमा ती विषय पनि समेट्न उल्लेख गरेको थियो । चितवन प्रहरीले यसअघि १९६ पृष्ठ लामो प्रतिवेदनसहित सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएकामा सम्पति शुद्धीकरणको अनुसन्धान पनि पूर्ण नगरेको सरकारी वकिलको निष्कर्ष रहेको थियो । यसअघि ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले १५ जना नयाँ प्रतिवादीसमेत थपिएकाले बिगो रकमसमेत बढेको छ । अहिले प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ भराउन मागदाबी लिनुपर्ने राय दिएको छ । यस्तै, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्र्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ । यस्तै, अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार ९ सय २८ रुपैयाँ गएको प्रहरीको अनुसन्धानमा उल्लेख गरिएको छ । जसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ । लामिछानेको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको साहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रुपैयाँ अवैध बाटोबाट लगानीका रूपमा भिœयाइएको संसदीय छानबिन समितिले पनि पत्ता लगाएको थियो ।यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउनेछ । जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी, तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र रामबहादुर खनालविरुद्ध संगठित अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । लामिछानेसहितका प्रतिवादीबाट ५ करोड ७९ लाख ८३ हजार रुपैयाँ दुरुपयोग भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले अनुसन्धान प्रतिवेदन आएको पुष्टि गर्दै अध्ययनकै क्रममा रहेको बताए । ‘प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ, हामी अध्ययन गर्दै छौं, त्यसपछि मात्रै मुद्दा दर्ताको प्रक्रिया अघि बढ्छ,’ लुइँटेलले भने । सरकारी वकिल कार्यालयका अनुसार अब प्रतिवेदन अध्ययन गरेर एक सातादेखि १० दिनभित्र लामिछानेसहितका ३२ प्रतिवादीविरुद्ध चितवन जिल्ला अदालतमा अभियोग दर्ता गर्ने तयारी छ । गत मंसिर पहिलो साता २४ बचतकर्ताले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी ग्रुप अफ कम्पनीका सेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का सेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ र रामबहादुर खनालविरुद्ध चितवन प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो । अहिले उनीहरूसहित १५ जनालाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको हो । लामिछाने आइतबार मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने)ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुनेगरी हाललाई धरौटीमा छोड्ने आदेश दिएको थियो । लामिछानेले पोखराको सूयदर्शन सहकारी ठगी मुद्दामा कास्कीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध ७ मंसिरमा चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा उनी सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थिए । पोखराबाट स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा बयानका लागि काठमाडौं ल्याइएका लामिछानेलाई काठमाडौंबाटै चितवन लगिएको थियो । त्यहाँ उनीसँग १८ र १९ मंसिर गरी दुई दिनमा २३ घन्टा बयान लिइएको थियो ।

Like