असोज ३ मा कालो दिन मनाउने, धर्मनिरपेक्ष खारेज नभएसम्म व्रत आन्दोलन गर्ने, धार्मिक सम्मेलनको निर्णय
रासंसा/काठमाण्डौ, पौष ०७,
मुलुकमा काठमाडौंमा दुई दिनसम्म चलेको राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलनले असोज ३ गतेलाई कालो दिन घोषणा गरेको छ । साथै अबदेखि हरेक वर्ष असोज ३ गते अन्न ग्रहण नगरी ‘व्रत आन्दोलन’को रुपमा मनाउने निर्णय सम्मेलनको छ । ‘ऐतिहासिक एवं शास्त्रीय आधारबाट नै नेपाल सनातन हिन्दु संस्कृतिको मुल केन्द्र हो । यस आधारमा नेपाल राष्ट्र बनेको हो,’ शास्त्रीले अनलाइनखबरसँग भने, ‘तर जनभावना विपरीत २०७२ साल असोज ३ गतेको दिन राजनीतिक दलहरुले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर समग्र धर्म मान्ने नागरिकको अपमान भएकोले धर्म सापेक्ष नभएसम्म असोज ३ कालो दिनको रुपमा मनाउँदै त्यो दिन सबै सनातन ॐकार परिवारले अन्न ग्रहण नगर्ने व्रत आन्दोलनको रुपमा सुरु गर्ने निर्णय भयो ।’ चाबहिलमा पुस ५ र ६ गते दुई दिनसम्म चलेको सम्मेलनले नेपाललाई हिन्दु धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको होे । नेपाल धर्मसापेक्ष नभएसम्म असोज ३ गतेको दिन अन्न ग्रहण नगर्ने र व्रत आन्दोलनको रुपमा मनाउने निर्णय भएको आयोेजक समितिका एक सदस्य डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको अल्पकालीन र दीर्घकालीन कार्यक्रम अघि बढाउन आवश्यक रकमका लागि सकेसम्म ठूलो अक्षयकोष स्थापना गर्ने, धार्मिक विवादहरुमा अन्तिम निर्णय दिन धर्माचार्यहरुको सहभागितामा धर्मसभा गठन गर्ने, ॐकार परिवारहरुको साझा आस्थाको केन्द्र विश्व सनातन हिदु महासभा गठन गर्ने लगायतका ९ बुँदे निर्णय सम्मेलनले गरेको छ । समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार र एकता महाअभियानले गरेको थियो ।

सम्मेलनको अन्त्यमा विश्व ॐकार एकता महाअभियानका संयोजक डा. चिन्तामणि नाथ योगीले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागलाई विशेष प्रस्तावको रुपमा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सम्मेलनले ध्वनी मतका साथ पास गरेको थियो । सम्मेलनमा देशभरका २०० बढी ॐकार धार्मिक संघसंस्थाका गुरु तथा अगुवाहरु सहभागी थिए । आयोजक समितिका सदस्य डा. बासुदेवकृष्ण शास्त्रीले सनातन हिन्दु राष्ट्र निर्माण कार्ययोजना प्रस्तुत गरेका थिए । साथै सम्मेलनले सरकारसमक्ष १३ बुँदे मागहरु समेत राखेको छ । नेपालमा भएका मठ, मन्दिर, गुठी, गुम्बा लगायतका धार्मिक धरोहरहरु सम्बन्धित धार्मिक समुदायको व्यवस्थापन र नेतृत्वमा मात्र सञ्चालन गर्न माग गरेको छ । ती क्षेत्रमा सनातन धर्म इतरका व्यक्ति र राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने सम्मेलनको माग छ । यसैगरी सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गर्नुपर्ने, सवारी साधन अनुमतिपत्र (लाइसेन्स), बैंकमा पैसा राख्दा दिने अभिलेख लगायत विदेशी भाषा र संवत्मा दिने कार्य गरिएकाले राष्ट्र बैंकबाटै सुधार गर्नुपर्ने, सरकारी कर्मचारी र सरकारको संरक्षणमा सन्चालित मठमन्दिर र कोष आदिमा कार्यरत कर्मचारी वा धार्मिक गुठी प्रतिनिधिले सम्बन्धित परम्परा अनुसारको स्वदेशी भेषभूषा अनिवार्य लगाउनुपर्ने माग सम्मेलनले राखेको छ । एकादशी र औंसी जस्ता मुख्य तिथिपर्वहरुमा देशभित्र सबै किसिमका हिंसा बन्द गर्ने र मास–मदिरा पसल बन्द हुनुपर्ने, ॐकार परिवारको धार्मिक आस्थाका केन्द्रहरु आश्रम, मठमन्दिर, लगायतका सबै क्षेत्र करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, स्थानीय कृषि प्रणाली र गौवंश संरक्षणका लागि सामुदायिक वनमा गौचरण क्षेत्र अनिवार्य छुट्याउनुपर्ने माग पनि सम्मेलनले राखेको छ । सम्मेलनले नेपाल सरकार लगायत सम्बन्धित समुदायले सन्चालन गरेको मठमन्दिर, आश्रम, गुठी र गुम्बाको आम्दानी पाठशाला, गौशाला, यज्ञशाला, औषधालय, भोजनालय, पुस्तकालय जस्ता विषयमा मात्र खर्च गर्ने व्यवस्था मिलाउन पनि सम्मेलनले माग गरेको छ । कार्यक्रममा डा. चिन्तामणि नाथ योगी, मोहन लामा रुम्बा र आदि ज्ञान केन्द्रका सूर्य माखिम र डा. बासुदेवकृष्ण शास्त्रीका कार्यपत्र प्रस्तुत भएका थिए । सम्मेलनमा गलेश्वर पीठका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश डा. रमणानन्द गिरी, केदारेश्वर पीठका पीठाधीश डा. स्वामी चितघन चैतन्य स्वामी, ब्यासाचार्य किशोर कुमार गौतम लगायत सहभागी थिए ।