प्रहरीले दुर्गा प्रसाईंको साइबर सम्बन्धी कसुरबारे बुझायो अनुसन्धान प्रतिवेदन

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २४,

मुलुकमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबरसम्बन्धी कसुरबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रसाईं मंसिर ४ मा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मंगलबार उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृत भन्छन्, ‘भोलि अदालतमा मुद्दा दर्ता गर्नेगरी काम गरिरहेका छौँ ।’ उनीविरुद्ध लागेको विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको आरोपमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको हो । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको घटनामा प्रसाईंको संलग्नता देखिएपछि उनीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिन थालेको छ । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं निकट हरिचन्द्र फुयल पक्राउ परेका छन् । आपराधिक लाभसम्बन्धी कसुरमा प्रसाईंसँग सोमबारदेखि बयान लिन थालिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘आपराधिक लाभ लिन नहुने कसुरमा प्रसाईंसँग आजदेखि बयान लिन थालेका छौँ ।’ साइबरसम्बन्धी कसुरको अनुसन्धान सकिएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । दोस्रो कसुरमा उनीसँगको बयान सकिएको छैन । प्रहरीले प्रसाईंलाई लिखत किर्ते, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Like