आज विश्व टेलिभिजन दिवस, विश्व दर्शनशास्त्र दिवस

Share to:

विश्व टेलिभिजन दिवस
१८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुईवटामात्र टिभीका बाकसहरु हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुण्डिएका आल्म्यूनियम पाइपबाट बनेका YAGI ऐन्टिना । आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसगंहरु कोट्याउन जरुरी लाग्दैछ । टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । हतार हतार भात खाएर टिभी हेर्न जानेको हतारो, चिसै हात साँझमा टिभी कोठाको प्रवेश, तछाडमछाड गर्ने समूदायका सदस्यहरु अनि भुईमा बसेर अहिलेको योगा र धार्मिक प्रवचन सुन्न बसेका दर्शकहरु । बिहिवारको रामायण, आईतवारको पाकिस्तानी सिरियल, देवी, ओम नमः शिवाय, गीताञ्जली, विश्वघटना अनि हिजो-आजका कुरा, के तपाईलाई याद छ ती एतिहासिक सिरियलहरु?
नेपाल टेलिभिजनको २०४१ सालमा स्थापना भएपछी हामी नेपालीहरु टिभीसँग अझै नजिकिएका हौं, श्यामश्वेत टिभी अनि च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, टिभी अभूतपूर्व वरदान जस्तै थियो ।
बाल कार्यक्रममा पत्राचार गर्ने बालवालिकाको लालसा अनि सदाझै हेर्ने बालसाम्रगीहरु, महजोडिका टेलिसिरियलहरू, वृतचित्रहरु, केही नबिराई हेरिन्थ्यो उतिबेला । शनिबारको फिल्म त झनै ब्यग्रताकासाथ प्रतिक्षा गरिन्थ्यो । स्कूलको परीक्षा परेको समय प्रशारण हुने फिल्म हेर्न नदिँदा अत्यन्त दुःख लाग्ने गर्थ्यो । रेडियो नेपालले आवाज ल्यायो घरदैलोसम्म तर नेपाल टिभीले त आवाज सहितको अनुहार, देश विदेशका रोचक, आकर्षक दृश्हरुनै ल्याईदियो । टिभी जब बोल्न थाल्दथ्यो तब दर्शकका स्वरयन्त्रहरु चुप लाग्दथे, त्यो बाकसले सबैलाई आफूप्रति आकर्षित गर्दथ्यो ।
एन्टिनाभएको घर एकतवरले धनी कहलाउँथे, किनकी त्यतिबेला अत्यधिक महङ्गो टिभी अहिलेजस्तै सबैको घरमा हुने कुरो परिकल्पनासम्मपनि गर्न सकिन्नथ्यो । कतिले धान वेचेर टिभी किने त कतिले वर्षौ जम्मा पारेको पैसाले अनि दाईजोमा पनि त आएका टिभीको फेरहिस्त लामै छ कि कसो ? टीभी एउटा साथी हो अनि संसार अनुभूत गर्न पाउने एउटा झ्यालपनि जसवाट हामी संसार नियाल्छौ ।
धर्मकर्ममा अत्यन्त आस्था राख्ने एकजना हजुरबूवाको संझना आँउछ, महाभारत या रामायण आँउदा वहाँ पुरै लम्पसार परेर दण्डवत गरेर मात्र श्रद्धापूर्वक हेर्नुहुन्थ्यो, टिभी कोठाको भिड अलि छेउ लाग्थे वहाँ लम्पसार पर्दा ठाँउ मिलाउनलाई ।
टिभीले “ट्वाक्क टुक्क” सँगै हँसायो अनि कति कुरामा रुवायो, धेरै कुरा सिकायो अनि समाचार सुनायो, देखायो, टिभीभित्र मान्छे छिर्छ र तिनै मान्छे देखिन्छ भन्ने हल्ला पनि गरे कोहीकोहीले, संझदा हाँसो उठ्छ । विश्वकप फूटवल सँगै बसेर सादा टिभीमा हेरेको रंगीन यादहरुले आज पनि एउटा पुरानो यूगको अवयवहरुमा फिर्ता बोलाउँछ ।
गाँउका सबैजना मिलेर पैसो उठाएर भिडियोमा VCR/डेक लगाएर ल्याएर फिलिम हेर्दाको रमाईलो पनि टिभीकै कारण सम्भव भयो । शुरुवातका भिडियो गेमका कार्टिजहरुपनि टिभीमै जोडेर सुपर मारियो, कन्ट्रा, एफ वान रेस लगायतका खेलहरु हामीमध्यधेरैले खेलेका हुनसक्छौं ।
विस्तारै रंगिन भयो हाम्रो टिभी, अनि थपिए टिभी हेर्ने च्यानलहरु, देश विदेश लगायतका सबै च्यानलहरु आज हामी हेर्दछौ, हात हातमा रिमोटमार्फत् आफूलाई मनपरेको विषयगत कुनैपनि कुरा हामी टिभीमा सहजै हेर्न सक्छाैं । धेरैजसोको घरमा टिभी छ आजभोली, अरु त अरु हामीलाई बाबा रामदेवले योग गर्नसमेत टिभी मार्फत सिकाउँछन् साथै कृषि कार्यक्रमले कृषी सिकायो अनि रियालिटी कार्यक्रमले गाँउगाँउमा भएका प्रतिभालाई मूलधारमा समाहित गर्यो । सुन्दा अचम्म लाग्नसक्छ, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तत्कालिन WWF (World Wrestling Federation) जुन अहिले WWE बनेको छ त्यसमा ब्यवसायिक कुस्तिवाज तथा कुस्तिवाजमाथि लगानी गर्ने तथा सन् २००७ ताका रियालिटी शोः द एपरन्टाईसका निर्णायक थिए, यसअर्थमा टिभीले हामीलाई धेरै ठूला अनि नयाँ अनुहारहरु दिएको छ र दिने गर्दछ । एकफेर सोचौँ न! कतिधेरै टिभीमा देखिएका अनुहारहरु आज धेरै सफल अनि चर्चित भएका छन्, स्वर्गीय ईन्द्र लोहनीको “बहस” होस् या विजय कुमारको “दिशानिर्देश” या दूर्गानाथ शर्माको “विश्व घटना” वा वर्तमान समयमा रङ्गमञ्च, चलचित्र अथवा सामाजिक चेतनामा सार्ह्रै लोकप्रिय कलाकार जोडी धुर्मुस-सुन्तली नै किन नहोउन हामीले टिभिमार्फत् एउटा आशा पाएका छाैं, कतिले जीवनसंगको लडाईमा एउटा बाँच्ने बहाना पाएका छन् । विभिन्न हाँस्य कार्यक्रमका पात्रहरु आज ठूला नाम र उत्कृष्ट जीवन्त पात्रहरू बनेर हामीमाझ परिचित छन् । आजको दिन पर्दापछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिन हो । ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ? नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २५ भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ । दिशा गरेपछी हात धुनपर्छ, साबुन पानी नभए खरानी पानी, झाडापखालामा जीवन जल खुवाउने, आयोडिनयूक्त नुन देखि छोरीलाई स्कूल पुर्याउने अनि पोलियो थोपा खुवाउनेसम्मका सूचनाहरु कलात्मक पारामा टिभीमार्फत् नेपाली समाजमा प्रवाह भएको हो । डिस या केवलको तार बेगैर हेर्न सकिने च्यानलहरुलाई टेरिस्टेरियल भनिन्छ जुन Yagi प्रविधिमा आल्म्यूनियमबाट बनेको एण्टेनालाई जोडेर टिभीमार्फत् हेर्न सकिन्थ्यो, विस्तारै एण्टेना हराए अनि एनालग प्रविधिको विस्तार स्वरूप धेरै च्यानलहरूकासाथ डिस केबल सञ्जालको विस्तार भयो । ईन्टरनेट मार्फत् अनलाईन टिभी पनि एउटा नौलो प्रयोग भएको छ आजभोली । समग्रमा भन्दा टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ । केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए ,तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टिभी अर्थात टेलिभिजन अनि दुरदर्शन यन्त्र दिवसको शुभकामना ।
विश्व दर्शनशास्त्र दिवस
अहिले विश्व आधुनिकीकरण तर्फ मोडिएको छ, यहि आधुनिकिकरणको हितकारी प्रभाव धेरै समाजहरुमा छाड्न पनि दर्शनशास्त्रको मुख्य योगदान रहने गरेको छ। हुन त, पुरातन समयमा शुरु भएको कतिपय दार्शनिक बहसहरू अझै पनि अनुत्तरित नै छन्, तर ति केहि अपवादहरु हुन्। अहिलेको समयमा विश्वका कुना कन्दरामा मानवताले सामना गर्दै आएका समस्याहरुलाई अनुसन्धान र अध्ययनहरु गरेपश्चात, त्यसको दार्शनिक विश्लेषणगरि आएका चुनौतीहरुलाई अधिक प्रभावकारी ढङ्गले हल तर्फ लैजाने कार्यक्रमहरुलाई आजको यस दिनले बढावा दिने गरेको छ। वास्तविकता र अस्तित्वको स्वभाव अध्ययन गर्नु नै दर्शनशास्त्र (Philosophy) हो। अंग्रेजीमा “Philosophy” भन्नाले बुद्धिको प्रेम भन्ने बुझिन्छ। दर्शनशास्त्र मानव सोचको सबै भन्दा महत्वपूर्ण क्षेत्रहरु मध्ये एक हो, किनकी यसले जीवनको अर्थ प्राप्त गर्नको लागि मानिसहरुलाई उत्साहित गर्दछ। दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार विश्व दर्शनशास्त्र दिवस मनाइन्छ। सन् २००५ देखि युनेस्कोको पहलमा यो दिवस मनाउदै आइएको छ। असमान पहुँचमा भएका स्थानहरुमा विशेष जोड दिएर आजको दिन युनेस्कोले विश्वभर दर्शनशास्त्रको बारेमा शिक्षा प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गर्दछ। यस्ता कार्यक्रमहरुबाट अहिलेका युवा पुस्ता देखि लिएर हाम्रो आउने पुस्ताहरुले पनि दर्शनशास्त्र शिक्षणको विश्वव्यापी महत्त्वलाई रेखांकित गर्न सकुन भन्ने युनेस्कोको उद्देश्य रहेको पाइन्छ। दर्शनशास्त्र अस्तित्व, ज्ञान, मानहरू, कारण, दिमाग, र भाषा जस्ता विषयहरूको सामान्य र मौलिक समस्याहरूको अध्ययन हो। अन्य अनुसन्धानहरू जस्तै कला, विज्ञान वा राजनीति दर्शनशास्त्रसँग सम्बन्धित रहेका छन्। समाजको प्रत्येक संस्था दार्शनिक विचारधारामा आधारित छ, चाहे त्यो कानुनी संस्था होस्, सरकार होस्, धर्म होस्, परिवार होस्,उद्योग वा व्यापार होस् वा शिक्षा। दार्शनिक विभेदहरूले सरकारलाई परास्त पार्न सक्छ, कानुनमा कठोर परिवर्तनहरू ल्याउन सक्छ र सम्पूर्ण आर्थिक प्रणालीहरूको परिवर्तन गर्न सक्छ। एक समाजको शैक्षिक प्रणालीले सिकाउने मूल्यहरूले समाजको दार्शनिक विचारहरूलाई झल्काउँछ। आजको यस महत्वपूर्ण दिनको सबैमा शुभकामना।

Like